एउटै टोलबाट डेढ करोडको सुन्तला बिक्री

बागलुङ । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका कृषकहरूले यस वर्ष मात्रै झण्डै डेढ करोड रुपियाँ मूल्य बराबरको सुन्तला बिक्री गर्ने भएका छन् व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षण बढ्दै जाँदा एउटै टोल बास्कुनाबाट मात्रै यस्तो उल्लेखनीय आर्थिक कारोबार हुने गरेको हो ।

बास्कुनामा सुन्तला खेती गर्ने अधिकांश कृषकले सुन्तला बिक्रीका लागि ठेकेदारसँग सम्झौता गरी सकेको हुँदा झण्डै डेढ करोड मूल्य बराबरको सुन्तला बिक्री हुने देखिएको हो ।

बास्कुनाका स्थानीय कृषक शेरबहादुर केसीले १० लाख २१ हजार, नरबहादुर खत्रीले ११ लाख, सन्दिप खत्रीले २२ लाख, तीलक खत्रीले १३ लाख मुल्य बराबरको सुन्तला विक्री गर्नु हुने भएको हो ।

यसैगरी, मनबहादुर केसीले ११ लाख ५० हजार, भीम थापाले ६ लाख, हर्कबहादुर काउचाले दुई लाख ५० हजार, दिलमति श्रीषले नौ लाख ५० हजार, टेकबहादुर खत्रीले नौ लाख ५० हजारमा आफ्नो बगानको सुन्तला बिक्री गर्नु भएको छ ।

त्यस्तै देउबहादुर हुमेनले २१ लाख, तीलक गुरुङले १३ लाख, भीम गुरुङले १० लाख, रुपा गुरुङले पाँच लाखमा सुन्तला बिक्री गरेको बेनी नगरपालिका ४ का वडा सदस्य तथा सुन्तला कृषक सन्दीप खत्रीले जानकारी दिनुभयो ।

बास्कुना क्षेत्रको सुन्तला मुख्यतः धादिङका ठेकदारहरु कान्छा तामाङ नेतृत्वको व्यापारी समूहले खरिद गर्ने गरेको छ ।