एक वर्षको अवधिमा २९ हजार जना भन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् ।

एक वर्षको अवधिमा २९ हजार जना भन्दा बढी पर्यटकले म्याग्दी भ्रमण गरेका छन् ।

अघिल्लो वर्ष २०७८/०७९ मा सात हजार ९२६ जना विदेशी पर्यटकले भ्रमण गरेको म्याग्दीमा गत आर्थिक वर्ष २०७९/०८० मा २९ हजार ३२८ जना पर्यटकले भ्रमण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा म्याग्दी भित्र्ने पर्यटकको संख्या २२ हजार २१ र बाहिरिनेको सात हजार ३०७ जना रहेको छ । घोडेपानीको पर्यटक प्रहरी चौकीका साथै बेनी, भुरुङ तातोपानी र दरवाङस्थित प्रहरी चौकीले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरण सहितको तथ्यांक राख्ने गर्छन् ।

म्याग्दीमा आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ । धवलागिरी र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरी, धवलागिरी सेञ्चुरी, धवलागिरी चक्रीय, धवलागिरी आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अस्टे«लिया, नेदरल्याडका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीय स्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो ।

“अघिल्लो वर्षको तुलनामा गत वर्ष पर्यटक आगमन बढेपनि अपेक्षाकृत होइन,” उहाँले भन्नुभयो “पथप्रर्दशक बिना पदयात्रामा जान नपाउने नियमका कारण कम आयस्रोत भएका र एक्ले घुम्न चाहने पर्यटक आएनन् ।” कोभिड पछि २०७६ यता यसपाली धेरै पर्यटक आएका हुन् ।

सबैभन्दा बढी २०७९ कात्तिकमा पाँच हजार ६२०, वैशाखमा पाँच हजार २२२, चैतमा चार हजार ७९४, मंसिरमा तीन हजार २९, असोजमा दुई हजार ४८५ जना पर्यटकले भ्रमण गरेका छन् । साउनमा ६५२, भदौमा ९८९, पुषमा एक हजार ७१४, माघमा ९६१, फागुनमा एक हजार ७२३, जेठमा एक हजार ६४९ र असारमा ४९० जना पर्यटकले म्याग्दी भ्रमण गरेका प्रहरी कार्यालयको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार १९१, २०७४/७५ मा ७४ हजार ७३३, २०७३/७४ मा ६९ हजार ८३७ जना विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ४३ हजार ६ सय ३२ जना र २०७७/७८ मा शून्य थियो ।