बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द

बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा ३४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्लामा संचालित उद्योग बन्द भएका हुन् ।

आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म ४५६ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ७१ वटा उद्योगहरु बन्द भएका छन् ।

यस अवधीमा ७२ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/८० मा ११७ उद्योत तथा व्यवसाय बन्द भएका छन् । जसमा उद्योगतर्फ ४४ र वाणिज्यतर्फ ७३ रहेका छन् ।

त्यस वर्ष २२८ व्यवसाय दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९७ र वाणिज्यतर्फ १३१ रहेका छन् । कार्यालय प्रमुख थापाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १५५ उद्योग व्यवसाय बन्द भएका छन् ।

उद्योगतर्फ ६७ र वाणिज्यतर्फ ८८ व्यवसाय बन्द भएको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष उद्योगतर्फ ४३ र वाणिज्यतर्फ १०४ गरि १४७ व्यवसाय दर्ता भएको थापाको भनाइ छ ।

चालु आर्थिक वर्षमा भने उद्योगतर्फ ३१ र वाणिज्यतर्फ ४० गरि ७१ व्यवसाय बन्द भएका छन् । यस वर्ष उद्योगतर्फ २७ र वाणिज्यतर्फ ४५ गरि ७२ व्यवसाय दर्ता भएको प्रमुख थापा बताउनुहुन्छ ।

व्यवसाय गरेको छोटो समयमै बन्द गराउनेको संख्या बढी रहेको उहाँको भनाइ छ । बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले कोभिड–१९ पछि आर्थिक गतिविधि साँघुरिँदै जाँदा त्यसको असर व्यापार व्यवसायमा परेको बताउनुभयो ।

दुई वर्षको अवधिमा बागलुङ बजारबाट मात्रै ७० व्यवसायी पलायन भएको उहाँको भनाइ छ ।