बागलुङ,
करिब सय बर्ष अघि तामा निकालिएको जैमिनी नगरपालिका वडा न । ३ कालापातलको खानीमा प्रारम्भीक सम्भाव्यता अध्ययन थालिएको छ । तामा उत्खनन् लागि प्रारम्भीक सम्भाव्यता अध्ययन थालिएको हो ।
राणकालमा बन्द भएको तामाखानी पुनः सञ्चालन गर्नको लागि अध्ययन थालिएको हो । खानी बिभागको अनुमतिमा मोहङ मिनिरल्स र शुभम ग्रुपले तामा उत्खनन्को लागि प्रारम्भीक अध्ययन थालेको छ । आफ्ना बाऊ बाजेहरुले तामा निकालेको तथ्यको आधारमा प्रारम्भीक अध्ययन थालिएको वडा अध्यक्ष कृष्ण भुजेलले बताए ।
तामा सकिएर नभई तत्कालीन सरकारका कारण बन्द भएकोले त्यहाँ अझै पनि प्रशस्त मात्रामा तामा रहेको हुन सक्ने वडा अध्यक्ष भुजेलको भनाई छ । शुभम ग्रुपका निर्देशक अशोक बिकले अध्ययनपछि मात्र तामा निकाल्न सकिने वा नसकिने बारेमा थाहा हुने बताए ।
‘यो प्रारम्भीक अध्ययन हो, यहाँ तामा रहेनरहेको विषयमा खोजी गर्छौ’, बिकले भने–‘प्रारम्भीक अध्ययनको प्रतिवेदनपछि अन्य प्रक्रिया थाल्छौँ ।’प्रारम्भीक अध्ययनका लागि झण्डै छ महिना लाग्ने उनको भनाई छ । बागलुङ, म्याग्दीका विभिन्न स्थानमा तीन बर्ष अघि प्रारम्भीक अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीमा चीनबाट आएको प्राबिधिक टोली फर्किएपछि अध्ययन रोकेको थियो ।