
बागलुङ । पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट २० जना उद्यमी छनौट गरी उद्यमीलाई सम्मान गरिएको छ ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट २० उद्यमीहरुलाई सम्मान गरिएको हो ।
उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालित कार्यक्रम अन्तर्गत पहिलो चरणबाट छनौट भएका चालिस उद्यमीबाट उद्यमीहरुले तयार गरेको व्यावसाकिय योजनाका आधारमा २० जना छनौट गरी सम्मान गरिएको बताइएको छ ।
जलजलाका नौ वटै वडाबाट १ सय ५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था लगायतको सूचकका आधारमा पहिलो चरणमा चालिस जना उद्यमी छनौट भएका थिए । उनिहरुलाई २५ हजारको दरले पुरक अनुदान दिइएको छ ।
छनौट भएका उद्यमीहरुलाई तालिम दिएर व्यावसायिक योजना तयार गर्न लगाएर दोस्रो चरणमा २० जना उत्कृष्ट उद्यमी छनौट गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले बताउनुभयो ।
उहाँका अनुसार, उद्यमी आफैले तयार गरेको व्यावसायिक योजनालाई विज्ञहरु सम्मिलित टोलीद्धारा मूल्याङ्कन गर्न लगाएर दोस्रो चरणका उत्कृष्ट उद्यमीहरु छनौट गरिएको थियो ।