बागलुङ,इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली सम्पर्क बिहिन हुनुभएको छ । सहकारीको कारोवारका कारण आँफुलाई मानसीक तनाव भएको भन्दै प्रहरीलाई परिवारको सुरक्षा गरिदिन आग्रह गरेर नेपाली गत शुक्रबार देखि सम्पर्कविहिन हुनुभएको हो । नेपालीले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा आँफु मानसिक तनावका कारण उपचारका लागि जानुपर्ने भएको र परिवार असुरक्षीत रहेको भन्दै सुरक्षाका लागि आग्रह गर्नुभएको बागलुङका प्रहरी उपरीक्षक योगेन्द्र खड्काले जानकारी दिनुभयो । नेपाली सम्पर्क बिहिन भएपछि प्रहरीले खोजि गरी रहेको छ । अध्यक्ष नेपालीले मोबाइल बन्द गर्नुभएको छ ।नेपाली फरार हुनसक्ने भन्दै उजुरी परेपछि खोजीका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बताउनुभयो । ‘उहाँको फोन सम्पर्कमा छैन्, भाग्न सक्ने भन्दै बचतकर्ताहरुको उजुरी आएपछि हामिले गृहलाई जानकारी गराएका छौं’ श्रेष्ठले भन्नुभयो ‘परिवारको सुरक्षा माग्दै उहाँले प्रहरीलाई निवेदन दिनुभएको रहेछ ।’ शुक्रबारदेखि अध्यक्ष नेपाली सम्पर्कविहिन भएपछि नेपालीको बारेमा खोजतलास भइ रहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । नेपाली सम्पर्क बिहिन भएको खवर पाएपछि सहकारीका बचत कर्ताले इमेज बचत तथा ऋण सहकारीको बागलुङ कार्यालयमा घेराउ गरेका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहनुभएका नेपाली सम्पर्कमा नहुँदा नगरवासी मर्कामा छन् ।