पहिरोका कारण सोमबार रातीदेखि अवरुद्ध भएको बेनी–जोमसोम सडक खण्ड मंगलबार दिउसोदेखि खुलेको छ । पहिरोले म्याग्दी खण्डमा पर्ने बेनी–जोमसोम सडक अन्तर्गत विभिन्न चार ठाउँमा सडक अवरुद्ध बनाएको थियोे । वर्षासँगै सडकभन्दा माथिबाट खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैंसरी, कुलौटे, अन्नपूर्ण–२, नैनीबगर र ३ नम्बर वडा दानाको गुइँठेमा सडक अवरुद्ध भएको थियो । यसैगरी बेनी–दरबाङ सडक खण्ड पनि दुई ठाउँमा पहिरो खसेपछि अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्री, मुस्ताङ भ्रमणमा निस्किएका पर्यटक, कर्मचारीलगायत सयौको संख्यामा यात्रुहरु अलपत्र परेका थिए ।
बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, घुमाउनेभीर र मालिका गाउँपालिका–६, बाङ्गेपहिरोमा पनि सडक अवरुद्ध भएको थियो । मंगलबार दिउसो सडक खुलेपछि यात्रुहरु गन्तव्य तर्फ लागेको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो । पहिरोकै कारण मुस्ताङको स्याउ ढुवानीमा समेत समस्या भएको थियो । सडक अवरुद्ध भएपछि मुस्ताङ जाने र फर्किएका गाडीहरु बीच सडकमै रोकिएका थिए । मंगलबार दिउसो वर्षा रोकिएपछि मर्मत गरेर सडक खुलाइएको प्रहरीले जनाएको छ । म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्म कुल ७६ किलोमिटर दूरी रहेको यस सडक खण्डको म्याग्दी खण्डअन्तर्गत विभिन्न ठाउँमा सडक स्तरोन्नतिको कार्य अहिले पनि भइरहेको छ । उत्तर–दक्षिण जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको बेनी–जोमसोम–कोरला सडक खण्ड गण्डकी प्रदेशको लाइफलाइन मानिन्छ ।
त्यस्तै, पश्चिम म्याग्दीको मङ्गला–मालिका–धवलागिरि गाउँपालिका हुँदै जलजला–ढोरपाटन भएर रुकुम र म्याग्दी जोड्ने दुई जिल्ला बेनी–दरबाङ सडक म्याग्दीको लाइफलाइन मानिन्छ । यो सडक खण्ड पनि वर्षातको समयमा पटकपटक अवरुद्ध हुँदै आएको छ । यस सडक खण्डको पनि विभिन्न ठाउँमा सडक स्तरोन्नति र विस्तारको काम हुँदै आइरहेको छ । वर्षाकै कारण म्याग्दी सदरमुकामदेखि ग्रामीण जोड्ने सडक पनि हिलाम्मे भएका छन् । वर्षाले सडक अवरुद्ध बनेपछि यात्रु तथा नागरिकले सास्ती बेहोरेका छन् ।






