बागलुङको निसीखोला गाउँपालिकामा दुई हजार ४३८ घर बाढीपहिरोको जोखिममा परेका छन् । भिरालो स्थान, खोला नजिक र सडक छेउका घर जोखिममा परेसँगै १३ हजार ५९७ जना स्थानीय प्रभावित बनेका हुन् ।
सात वटा वडा रहेको निसीखोलामा सबैभन्दा बढी वडा नं १ बाढीपहिरोको जोखिममा परेको छ । यस वडामा मात्रै नौ सय २० घर पहिरोको जोखिममा परेका छन् भने हुल्दी, लेबाङ किटेनी, स्वाँरालगायत बस्ती पहिरोको जोखिममा परेका गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
। गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं २ मा दुई सय सात, वडा नं ३ मा एक सय ४०, वडा नं ४ मा चार सय, वडा नं ५ मा एक सय ७०, वडा नं ६ मा ३१ र वडा नं ७ मा पाँच सय ७० घर पहिरोको जोखिममा छन् ।
पहिरोले गाउँनै चिराचिरा परेपछि बर्खाको समय जोखिम मोलेर बस्नु परेको निसीखोला–१, हुल्दीकी हुमकुमारी मल्लले बताउनुभयो । गाउँको बीचमा एउटा ठुलो पहिरो रहेको भन्दै उक्त पहिरो दशकौँ अगाडिदेखि निरन्तर बग्ने गरेको उहाँको भनाइ छ ।
निसीखोला–२ का पदमबहादुर विकले गाउँमा बाहेक अरू ठाउँमा जग्गा जमिन नहुँदा जोखिममा बस्नुपरेको बताउनुभयो । ठुलो पानी प¥यो भने सबै सरसामान बोकेर घर बाहिर निस्कने गरेको उहाँको भनाइ छ ।
निसीखोला गाउँपालिकाका अध्यक्ष मगरले जोखिममा रहेका बस्ती स्थान्तरणका लागि केन्द्र र प्रदेश सरकारसँग माग गरिरहेको बताउनुभयो । जनता आवास कार्यक्रमअन्तर्गत केही नागरिकलाई सुरक्षित स्थानमा सारेर घर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
अप्ठ्यारो भूगोलका कारण हरेक वर्ष बाढीपहिरोबाट यहाँका नागरिकले दुःख पाउँदै आएका उल्लेख गर्दै अध्यक्ष मगरले त्यसको दीर्घकालीन समाधानका लागि गाउँपालिकाले योजना बनाइरहेको बताउनुभयो ।

धौलागिरी टेलिभिजन 











