म्याग्दीमा पहिलोपटक घुम्ती शिविर सञ्चालन

बागलुङ । म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरमा आइतबारदेखि दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी विषयमा तालिम सुरु भएको छ ।

सूचना तथा सञ्चार मन्त्रालय, सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहकार्यमा तालिम सञ्चालन गरिएको हो ।

दुर्गम अर्थात् मोफसलमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तालिम आयोजनासँगै सूचना तथा प्रसारण विभागद्वारा प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाइन सञ्चारमाध्यम दर्ता सम्बन्धी घुम्ती शिविर पनि सञ्चालन गरिएको छ ।

म्याग्दीसहित बागलुङ, पर्वत, बागलुङ र मुस्ताङलाई लक्षित गरी तालिम र शिविर चलाइएको हो । तालिम तथा घुम्ती शिविरको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले गरेका थिए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका उपाध्यक्ष प्रकाश पौडेल, सूचना तथा प्रसारण विभागकी निर्देशक पुर्णिमा उपाध्याय, प्रमुख प्रशिक्षक एवं विषय विज्ञ डाक्टर विजयप्रसाद मिश्र र जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले मन्तब्य राखेका थिए ।

तालिमको उद्घाटनसत्र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा म्याग्दीबाट स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्टिङ गर्दै आइरहेका पत्रकार तथा सञ्चारकर्मी र प्रशिक्षार्थी गरी ४० जनाभन्दा बढीको सहभागिता रहेको छ ।

चैत्र ३ देखि ५ गतेसम्म तीन चल्ने तालिममा पत्रकारिता सम्बन्धी विषयको तालिमसँगै सूचना तथा प्रसारण विभागबाट जारी हुने प्रेस प्रतिनिधि प्रमाणपत्र जारीका साथै नवीकरण तथा अनलाइन सञ्चारमाध्यम दर्ताको कार्य भैरहेको छ ।