images
images

कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति कोषबाट फोटो पत्रकार शाक्य पुरस्कृत

बागलुङ । बागलुङमा स्थापित ‘कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कार’बाट फोटो पत्रकार कवीन्द्रमान शाक्यले पुरस्कृत हुनुभएको छ । आइतबार कोषद्वारा आयोजित पुरस्कृत वितरण समारोहमा शाक्यलाई रु.२५ हजार नगद सहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको हो ।

शाक्यले बाबुराम–सरस्वती बज्राचार्य स्मृति पुरस्कारबाट पाएको पुरस्कारमा २५ हजार थप गरि आइतबारनै ज्ञानोदय वुद्ध विहारमा आमा बुवाको नाममा अक्षयकोष स्थापना गर्नु भएको छ । सो रकम ज्ञानोदय बुद्ध बिहार बागलुङका अध्यक्ष लिलाम्बर बज्राचार्यलाई प्रदान गर्नु भयो ।

सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका अध्यक्ष अमर बहादुर थापाले पुरस्कारले काममा थप उर्जा दिने र जिम्मेवार बनाउने बताउनु भयो । उहाँले बाबुराम बज्राचार्यले बागलुङको कला सस्कृतिलाई प्रख्यात बनाउन महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दे कोषले बज्राचार्यको योगदानलाई जिवन्त राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

पुरस्कार ग्रहणपछि बोल्दै फोटो पत्रकार शाक्यले नेपाली समाजमा फोटोग्राफी चुनौतीपूर्ण रहेको भन्दै अहिलेको प्रविवधिले फोटोग्राफी थप चुनौतीपूण बन्दै गएको बताउनु भयो ।

कार्यक्रममा कोषमा संरक्षक राजन कुमार शाक्यले बागलुङको सांस्कृतिक सम्पदालाई उच्च राख्न पिताको अतुलनिय योगदान रहेकोले उहाको कृति जिवन्त राख्न पनि कोष स्थापना गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल भाषा मंकाः खलः का अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, ज्ञानोदय बुद्ध विहारका अध्यक्ष लिलाम्बर बज्राचार्य लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा कोषका सदस्य मुकुन्द शाक्यले सम्मानीत व्यक्तित्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सदस्य शकुन्तला शर्माको स्वागत र सचिव इश्वर बज्राचार्यको संचालनमा सम्पन्न भएको थियो । कलाकार बाबुराम बज्राचार्य र उहाँकी धर्मपत्नी सरस्वती बज्रचार्यको स्मृतिमा उहाँका परिवारजनले विसं २०६६ मा स्मृति कोष खडा गरेका थिए ।

कोषबाट यसअघि जनगायक जीवन शर्मा, मूर्तिकार ओम खत्री, कलाकार बिक्रम श्रेष्ठ, लक्ष्मण शाक्यलगायत पुरस्कृत भइसकेको कोषका संरक्षक राजन शाक्यले जानकारी दिनुभयो ।