images
images

विकट गाउँमा नियमित यातायात संचालन गर्न मोटरेवल पुल निर्माण

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले दुर्गम बस्तीमा नियमति गाडी संचालनमा लागि भिकोसघाटमा पुल निर्माण गरेको छ ।

गाउँपालिकाको वडा नं. १ मा पर्ने भिकोसघाटमा चालु आर्थिक वर्षमा पुल निर्माण भएको हो । ८७ लाख ६७ हजार ९ सय २६ रुपैयाँ लागतमा पुल निर्माण गरेको पालिकाले जनाएको छ ।

जिल्लामा सबैभन्दा विकट मानिने तमानखोलाको खुंखानी, नर्जाखानी र थास्पुरी लगायतका स्थानमा बर्खामा करिब चार महिना गाडी बन्द हुदै आएको छ ।

यसवर्ष वडा नं. ५ को खुंखानीसम्म सहज रुपमा यातायात संचालन गर्नका लागि पुल बनाएको गाउँपालिकाले जनाएको छ ।

पुल बनेपछि एक स्थानमा गाडी फेरेपछि सिधै गाउँपालिका केन्द्र आउन सकिने तमानखोला गाउँपालिका–५ का अध्यक्ष हिराबहादुर विकले जानकारी दिनुभयो ।

घट्टबोटमा पाँच मिनेटको पैदल यात्रा गरेपछि अर्को गाडी फेर्न सहज हुने हुँदा चालु आर्थिक वर्षमा वडा नम्बर १ को भिकोसघाटमा पुल निर्माण गरिएको उहाँको भनाइ रहेको छ ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले भौगोलिक विकटताका कारण गाउँ पुग्न धेरै भिर पहरा र खोलाहरु पार गर्नु पर्ने हुँदा नागरिकले समस्या भोग्नु परेको बताउनुभयो ।