
बागलुङ । उपल्लो मुस्ताङमा ५ वर्षदेखि अलपत्र चराङ छोसेर २५ किमी ग्राभेल सडकको अधुरो काम सुरु गरिएको छ । २०७३/०७४ सालमा ठेक्का सम्झौता भएको यो सडक निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र थियो ।
भारतीय नाकाबन्दी चरणमा उत्तर दक्षिण जोड्ने कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजना सुरु भएको थियो ।
चीनको कोरला नाकासम्म सडक स्तरोन्नति गर्न आयोजनाले पहिलो चरणमा बेनी जोमसोम ७४ किमी कालोपत्र र दोस्रो चरणमा जोमसोम कोरला १ सय १० किमी ७ खण्डमा ग्राभेल गर्ने गरी बजेट विनियोजन भएको थियो ।
जोमसोम झैते ४ खण्ड र झैते कोरला ३ खण्ड गरी ७ खण्डमा ग्राभेल सडक विस्तार गर्न ७ खण्डमा ठेक्का लगाइएको थियो ।
त्यस बेला ग्राभेल सडक निर्माण गर्न लगाईएका ७ खण्ड ठेक्कामध्ये ६ सेसन २०७६ अगावै निर्माण सम्पन्न भई आयोजनालाई हस्तान्तरण भइसकेका छन् ।
जोमसोम कोरलाका ६ सेसन आयोजनालाई हस्तान्तरण हुँदा चराङ—छोसेर २५ किमी सडकको काम निर्माण कम्पनीले अलपत्र छोडेको थियो ।
अलपत्र चराङ छोसेर खण्डको काम गर्न गौरी पार्वती कम्पनी आएको छ ।