images
images

११ महिना अगावै सम्पन्न भयो लुङ्दीखोला–भेडावारी–दुलेपानी सिँचाइ आयोजना

बागलुङ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका ७ मा लुङ्दीखोला भेडावारी दुलेपानी सिँचाई योजना सम्पन्न भएको छ ।
सिँचाई योजना सम्पन्न भएसँगै भेडावारी,दुलेपानी र लामाबगरका किसानहरू खेतमा सिँचाई गर्न पाएपछि खुसी भएका छन् । सिँचाई  नहुँदा बाँझै भएको जमिन अहिले हराभरा भएपछि स्थानिय खुसी भएका हुन् ।
पाँच वर्ष अघि मिलन चोक–सल्यान,घायखेत–धारापानी–ठोटनेरी सडक विस्तारका क्रममा पहिरोले सिँचाई कुलोमा क्षति पुर्याएपछि यस क्षेत्रका किसानहरूले अकासे पानीका भरमा खेती गर्दै आएका थिए ।
तरकारी पकेट क्षेत्र समेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा समेत कमी आएको थियो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय पर्वतले ठेक्का मार्फत कार्यान्वयन गरेको हो ।
१९ महिना भित्रमा निर्माण सम्पन्न गर्न कार्यालयले सनफोर्स सोलार एण्ड कन्स्ट्रक्सन बालाजु काठमाण्डौं सँग  २०८० भदौ १५ गते  ९२ लाख ७७ हजार नौ सय ३५ रुपियाँमा ठेक्का सम्झौता गरेको थियो ।
ठेक्का सम्झौता भएको आठ महिनामै काम सम्पन्न भएर सिँचाई योजनामा पानी सञ्चालन गरिएको उपभोक्ता समितिका अध्यक्ष चक्रपाणि पौडेलले जानकारी दिनुभयो ।
भेडावारीदेखि एक हजार आठ सय मिटर टाढा रहेको ढल्केको टाकुरा नजिक रहेको लुङ्दीखोलाबाट २ सय २५ एमएमको एचडीपी  पाइपलाइन मार्फत पानी ल्याइएको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र तिमिल्सिनाले बताउनुभयो ।