
बागलुङ । पछिल्लो समय बरपिपलका रुख हराउँदै गएकाले पर्वतको एक स्थानमा भने १०८ बरपिपल चौतारी निर्माण गरी संरक्षण थालिएको छ । धार्मिक एवं पर्यावरणीय हिसाबले महत्वपूर्ण मानिएका बरपिपल संरक्षणका लागि पर्वतको कुस्मा नगरपालिका–१२, बाटुलेचौरमा संरक्षण थालिएको हो ।
कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र कालिका गुठीको पहलमा विभिन्न व्यक्तिको सहयोगमा चौतारी निर्माण गरी बरपिपल र शमीका बिरुवा रोपिएको छ ।
आफ्ना कुलको उद्धारका लागि भन्दै विभिन्न व्यक्तिबाट प्रतिचौतारी १० हजार रकम सङ्कलन गरी चौतारी निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बाटुलेचौर क्षेत्र पुरानो धार्मिक स्थल भएकाले मन्दिरको नजिकमा बरपिपल चौतारी निर्माण गरिएको हो ।
“प्रत्येक चौतारीको न्यूनतम १० हजार रुपियाँ लिएर काम सुरु गरेका हौँ,” मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद पौडेलले भन्नुभयो, “साना खालका चौतारी बनाएर बरपिपल र शमीका बिरुवा हुर्काएका छौँ ।” अहिले सबैको मागबमोजिम १२४ चौतारी पुगिसकेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।
एकै ठाउँमा बरपिपल चौतारी बनेपछि मन्दिरमा आउने धर्मावलम्बी बढेका छन्। पूजाका लागि पर्वतका विभिन्न स्थानका साथै स्याङ्जा, कास्की, बागलुङलगायतका ठाउँबाट समेत श्रद्धालु आउने गरेका छन् । अहिले चौतारीको संरक्षणका साथै सबै चौतारीमा पुग्न बाटो बनाउने कामसमेत भएको छ।