images
images

बागलुङमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्ती मनाइयो

बागलुङ । युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्ती मनाइएको छ । विद्यामन्दिर पुस्तकालय, बागलुङले बुधवार आयोजना गरेको जन्मजयन्ती समारोहमा नेपाली साहित्यमा युगकवि श्रेष्ठको योगदानबारे विमर्शसहित रचना वाचन गरिएको थियो ।

साहित्यकार एवं विद्यामन्दिर पुस्तकालयका संरक्षक समितिका सदस्य प्रेम छोटाले सिद्धिचरणलाई युगकविको उपमा जनस्तरबाट दिइएको उल्लेख गर्नुभयो । “सरकारी स्तरबाट नभई जनस्तरबाट उहाँलाई युगकवि भनिएको हो”, छोटाले भन्नुभयो, “सिद्धिचरण प्रगतिशील र यथार्थवादी कवि हुनुहुन्थ्यो ।”

वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले युगको प्रतिनिधित्व गर्ने प्रखर साहित्य स्रष्टाका रुपमा सिद्धिचरणलाई लिनुपर्ने बताउनुभयो ।उहाँले पुस्तकालयले जन्मजयन्ती समारोह आयोजना गरेर सिद्धिचरणप्रति सम्मान गरेकामा पुस्तकालयको प्रशंसा गर्नुभयो ।

पुस्तकालयका कार्यवहाक प्रमुख संरक्षक लालचन्द्र राजभण्डारीले सिद्धिचरण श्रेष्ठका रचना पढ्दा जहिल्यै पनि नवीन चेत र उर्जा मिल्ने उल्लेख गर्नुभयो । उहाँले नेपाली साहित्य जगतका विशिष्ट प्रतिभाहरुको जन्मजयन्ती मनाउने परम्पराले नयाँ पुस्तालाई पनि भाषा, साहित्यको सेवामा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

सो समारोहमा साहित्यकार विजय राना, गोविन्द सुवेदी, टेकबहादुर क्षेत्रीलगायतले विभिन्न विधामा सिर्जना सुनाएका थिए । पुस्तकालयका अध्यक्ष राम थापाले युगकवि श्रेष्ठले नेपाली र नेवारी साहित्यको उत्थानमा उल्लेख्य योगदान पु¥याएको बताउनुभयो । ओखलढुङ्गामा जन्मनुभएका उहाँका ‘मेरो प्यारो ओखलढुङ्गा’लगायतका कविता चर्चित छन् ।

अध्यक्ष थापाले पुस्तकालयले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि विशिष्ट साहित्यकारहरुको जन्मजयन्ती मनाउने गरेको उल्लेख गर्नुभयो । बर्सेनि तिहारको लक्ष्मी पूजाका दिन पुस्तकालयले प्रतियोगितात्मक साहित्य गोष्ठीसहित देवकोटा जयन्तीलाई भव्य रुपमा मनाउँदै आएको छ ।

पुस्तकालयले साहित्य उपसमिति नै गठन गरेर साहित्य प्रवद्र्धनमा अगुवाई गर्दै आएको छ । युगकवि श्रेष्ठको ११३औँ जन्मजयन्ती समारोहमा पुस्तकालयका अध्यक्ष थापाको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।