
बागलुङ । कालिगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला नदी दोहनका कारण अस्तित्व संकटमा परेपछि शालग्राम शिलाको नामाङ्कन तथा चित्राङ्कन सुरु गरिएको छ ।
आइतबार मोहिनी एकादशीको अवसर पारेर कालीगण्डकी बचाऔं अभियान र शालिग्राम संरक्षण अभियान पर्वतले शिलाको नामाङ्कन सुरु गरेको हो ।
कार्यक्रममा सयौंको संख्यामा मानिसहरूले गण्डकी स्नान गरि हरिहर नाम संकृतन गर्दै शालग्राम भगवानको विभिन्न अवतारका नाम शिलाङ्कित गरेका हुन ।
कालीगण्डकी उत्खनन्को काम नरोकिँदा कालीगण्डकी र यसको पर्यावरण नै खतरामा परेको भन्दै कालीगण्डकी बचाऔं अभियान र प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समितिले म्याग्दीको प्रसिद्ध गलेश्वर धामबाट पर्वत कुश्मा बजारसँग जोडिएको पवित्र मोदीवेणीधामसम्मको बगर खण्डका मुख्य धर्मघाटका शिलाहरूमा ‘शालग्राम नाम’ चित्राङ्कन गरिएको हो ।
विगत चार दशक देखीको अव्यवस्थित विकासे गतिविधि र प्रकृति दोहनको कारण आज कालीगण्डकी नदी कुरूप बन्दै गएको छ ।
नदी र खोलाहरूको किनारै किनार खनिएको सडक तथा त्यो सडकसँगै आएको अव्यवस्थित शहरीकरण, जनस्वास्थ्यको ख्याल नगरी खोलिएका व्यवसाय र वातावरणीय प्रभाव मूल्याङ्कन विनाका उद्योगहरूले मानव तथा प्राणी जगत् अचाक्ली जोखिममा परेका छन् ।
पवित्र कालीगण्डकी माताको पवित्रता र स्वच्छता एवं चक्रांकित र निस्चक्रांकित शालग्राम शिलाको संरक्षण र नदी दोहन रोक्नका लागि कार्यक्रम आयोजना गरिएको अभियान्ता आरके अदीप्त गिरीले बताउनुभयो ।