images
images

बागलुङ नगरपालिकाले आयोजना गरेको चियापान कार्यक्रम स्थगित

बागलुङ नगरपालिकाले स्थापना दिवसको अबसरमा आयोजना गरेको चियापान कार्यक्रम स्थगित भएको छ ।

कार्यक्रम स्थलमा गत जेठ १ गते मृत्यु भएकी काठेखोला गाउँ पालिका–१ खहरे दिक्षा भण्डारी थापाको आत्महत्या नभई हत्या भएको भन्दै आन्दोलनमा रहेका महिलाहरुले तोडफोड गरेपछि चियापान कार्यक्रम स्थगित भएको हो ।

दिक्षाको न्यायको माग गर्दै आन्दोलनमा रहेका महिलाहरुले कार्यक्रम स्थल तोडफोड गरेका हुन् ।

सडकमा नाराबाजी गरिरहेका महिलाहरु कार्यक्रम स्थल रहेको समिक्षालय पार्कभित्र पसेपछि त्यहाँ तयार पारिएका केही संरचनामा क्षती पुर्याएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।

कार्यक्रम स्थलमानै नाराबाजी र भीडभाड रहेकाले सुरक्षा निकायको सल्लाहमा नगरपालिकाले स्थापना दिवसको कार्यक्रम स्थगित गरेको छ ।

नगरपालिकाले बसन्तकुमार श्रेष्ठ नेतृत्वको कार्यपालिकाले पदबहाली गरेको दुई बर्ष पुगेको अबसरमा समिक्षालय पार्कमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो ।

समिक्षालय पार्कमा राखिएका १८० देशका झण्डाको औपचारिक उद्घाटन र पार्कको नामाकरण गर्ने कार्यक्रम समेत थियो ।

दिक्षाको मृत्यु संकास्पद भएको भन्दै निस्पक्ष छानविनका लागि दवाव दिन केही दिन यता महिलाहरुले आन्दोलन गरिरहेका छन् ।

मृतकका श्रीमान सुसान्त थापा र सासु उजेली थापालाई नियन्त्रणमा लिएको प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

पोष्टमार्टममा ढिलाई, जाहेरी लिन नमानेको लगायतका कारणले घटना संकास्पद रहेको र अपराधि बचाउन लागिएको आन्दोलनकारीको आरोप छ ।