
बागलुङ । काठेखोला गाउँपालिका–१ पलाकी दिक्षा थापा भण्डारीको हत्या अभियोगमा उनका पति सुशान्त थापा र सासु उजेली थापालाई प्रहरीले पक्राउ गरेको हो ।
बागलुङ नगरपालिका ८ गलुवा माईत भएको दिक्षाको उनका श्रीमान सुशान्तले आमासँग मिलेर श्रीमतीको हत्या गरेको माइती पक्षले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
गत जेठ १ गते साँझ पौने ८ बजे दिक्षा आफ्नै घरको दोस्रो तलामा काठको बलोमा सलको पासो घाँटीमा लगाई झुण्डिएको भन्दै श्रीमान सुशान्तले पासो काटेर उपचारका लागि धौलागिरी अस्पतालमा ल्याएका थिए ।
आमाछोरा मिलेर उपचारका लागि अस्पताल ल्याएको भनिएपनि दिक्षाको आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ । पक्राउ परेका आमाछोरालाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत बागलुङबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।
जेठ २ गते रातीनै मृतकका बुबा देबेन्द्र बहादुर भण्डारीले कर्तब्य ज्यानमा जाहेरी दिएका थिए । मृतककी आमा कुबेतबाट बागलुङ आईपुगेकी छन् । माइती पक्षले घटनाको निष्पक्ष छानविनको माग गर्दै बालिकाको पोष्टमार्टम गर्न दिएका छैनन् ।