बागलुङ । बागलुङ नगरपालिकाले बागलुङ बजारमा अपाङ्गमैत्री फुटपाथ निर्माण गरिरहेको छ । नगरपालिकाले अवैध सडकपेटी भत्काएर सडक विस्तारसँगै फुटपाथ निर्माण गरेको हो ।
अपाङ्गलाई सहज रुपमा हिँड्डुल गर्न मिल्ने टायल विच्छ्याएको फुटपाथसहितको सडकले बजारलाई आर्कषक बनाउनुका साथै दुर्घटना न्यूनीकरण गर्ने विश्वास लिइएको छ ।
बागलुङ बजारको अस्पताल रोडबाट मरेपीपलसम्मको सडकमा फुटपाथ निर्माण थालेको नगरपालिकाले ट्राफिक चोकबाट नगरपालिका कार्यालयहुँदै टेलिकमको कार्यालयसम्म फुटपाथ निर्माण गरिरहेको छ ।
फुटपाथ अभावमा पैदलयात्रु र सवारीसाधन एउटै सडकमा हिँड्दा दुर्घटना बढेको भन्दै नगरपालिकाले मापदण्डविपरीतका सडकपेटी हटाएर फुटपाथ निर्माण गरेको हो ।
अस्पतालबाट मरेपीपलसम्म नगरपालिकाको ३३ लाख ६० हजार र स्थानीयबाट तीन लाख ६८ हजार गरी ३७ लाख २८ हजार लागतमा पक्की नालीसँगै फुटपाथ निर्माण गरिरहेको नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो ।
ट्राफिकचोकदेखि टेलिकमसम्मको सडकमा दुईतर्फी फुटपाथ निर्माण गर्न नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । बालमैत्री नगर घोषणाको तयारीमा जुटेको पालिकाले अपाङ्गमैत्री संरचना बनाउने अभियानअन्तर्गत फुटपाथ निर्माण गरेको हो ।
‘बजारमा सडक मिचेर बनाइएका पेटी, टहरा तथा अवैध संरचना हटाएर पैदलयात्रीको सहजताका लागि फुटपाथ बनिरहेका छन्’ नगरप्रमुख बसन्त कुमार श्रेष्ठले भन्नुभयो, ‘नगरमा बन्ने भौतिक संरचना अपाङ्गमैत्री बन्ने छन् ।’

धौलागिरी टेलिभिजन 



