images
images

कालीगण्डकी नदी किनारका सबै शालिग्राम शिलाको नामकरण गरिने

बागलुङ । कालीगण्डकी नदी किनारका सबै शालिग्राम शिलाको नामकरण गरिने भएको छ । चोरीनिकासी रोक्ने उद्देश्यले दामोदरकुण्ड र मुक्तिनाथबाट उत्पत्ति भई बग्ने नदीका दुवै किनारमा रहेका शिलाको नामकरण गर्न लागिएको हो ।

प्रकृति र पर्यावरण तथा शालिग्राम संरक्षण समिति जलजला गाउँपालिकाले म्याग्दीको गलेश्वरधामदेखि पर्वतको धार्मिक एवम् पर्यटकीय स्थल मोदी वेणीधामसम्म रहेका सबैखाले शालग्राम शिलाको नामकरण गर्न लागिएको जनाएको हो ।

समितिका संयोजक तारा रेग्मी पाध्याले आगामी जेठ ६ गते श्रीकृष्ण मोहिनी एकादशी तिथिको अवसरमा एकदिने शालिग्राम महोत्सव आयोजना गरी सबै शिलामा देवी, देवता र भगवानका नामबाट नामकरण गरिने जानकारी दिनुभयो ।

उहाँले त्यस दिन प्रत्येक भक्तजनले एक सय आठ शिलामा भगवान नामोच्चारण लेखी शिलाङ्कित गरी पुण्य कमाउन पनि अनुरोध गर्नुभयो ।

संरक्षण समितिका सचिव हरेमबहादुर खत्रीले कालीगण्डकी नदी र शालिग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्न समितिले अभियान थालेको बताउनुभयो ।

किनारमा रहेका साना, ठूला, चक्राङ्कित, निष्चक्राङ्कित सबै शिलाको संरक्षणका लागि यो अभियान थालिएको र नामकरणपछि चोरी, निकासी वा उत्खनन गरेमा पनि खोजी गर्न सहज हुने उहाँको भनाइ छ ।

उहाँका अनुसार पछिल्लो समय अवैधरुपमा भइरहेको नदी दोहनका कारण शालग्राम शिलाको अस्तित्व सङ्कटमा पर्दै गएको छ । बहुमूल्य र धार्मिकरुपमा महत्वपूर्ण मानिने शालिग्राम शिला ढुङ्गा, गिट्टी र चोकरको रुपमा प्रयोग भइरहेको छ ।

हिन्दूहरुको पवित्र तीर्थस्थल दामोदरकुण्ड क्षेत्रबाट उत्पत्ति भई आउने गण्डकी र मुक्तिनाथबाट उत्पत्ति भएको कागखोला कागबेनी भन्ने स्थानमा भेट भएपछि यसलाई कालीगण्डकी भनिएको हो । यो नदीबाट मूर्ति निर्माण तथा शिला पूजनका लागि स्वदेशमा मात्रै होइन विदेशमा समेत शिला लैजाने क्रम बढ्दै गएको छ ।