बागलुङ । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि बागलुङमा सञ्चालित भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको छैठौ दिन आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा सुरक्षाकर्मी, समाजसेवी र विभिन्न संघ संस्थामा आवद्व कर्मचारी गरी ३५ जनाबाट गरिएको रक्तदानबाट ३५ पिन्ट रगत संकलन भएको बागलुङका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक सुमन निउरेले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलको अध्यक्षता, ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक सुमन निउरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
सप्ताहको अन्तिम दिन सोमबार पत्रकारसंग सप्ताहको समिक्षा गर्दै दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा बागलुङ बजारको मुख्य चोकमा दीप प्रज्वलन गरि सप्ताहको समापन गरिने छ ।