
बागलुङ । विश्व रेडक्रस दिवसको सन्दर्भ पारेर बागलुङमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखाको आयोजनामा सरोकारवाला संस्थाबीच स्वास्थ्य तथा विपद् सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीले रेडक्रसलाई यसको मूल सिद्धान्त र मान्यता अनुसार विपद्मा सहयोग गर्ने संस्थाको रुपमा विकास गर्नुपर्ने बताए । कार्यक्रमा सहभागीले आपत विपदको बेला वितरण हुने राहत सामग्रीमा एकद्वार प्रणाली नहुँदा कतै आवश्यकता भन्दा धेरै राहत पुग्ने र कतिपय ठाउँमा कत्ति पनि राहत नपुग्ने समस्या रहेको उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापाले रेडक्रसलाई मानव सेवाका सिद्धान्त र भावना अनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनु भयो । उहाँले सबैको साझा प्रयासले स्रोत साधन जुटाउन समस्या नहुने बताउनु भयो । थापाले बागलुङ जिल्लाभर रेडक्रसको व्यापकता बनाउन ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेल, जिल्ला समन्वय अधिकारी कृष्णराज गौतम, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल, गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा लगायतले सुझाव राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखाले गरेका विभिन्न गतिविधिहरुबारेमा जानकारी गराईएको थियो । रेडक्रस गतिविधिबारे जिल्ला शाखाका मन्त्री भुवानी कँडेल र रेडक्रस बागलुङ मार्फत सञ्चालन हुँदै आएको समुदायमा आधारीत स्वास्थ्य परियोजना कार्यक्रमबारे कार्यक्रम अधिकृत गाकर्ण श्रेष्ठले प्रस्तुतीकरण राख्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाईटी बागलुङ जिल्ला शाखा सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्वागत सदस्य गोविन्द पौडेल र सञ्चालन मन्त्री भुवानी कँडेलले गरेका थिए ।