images
images

सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ ।

गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर धुलोको कारण अस्तव्यस्त भएपछि सडकमा जलविद्युत आयोजनाका सवारी साधनलाई अवरोध गरेका थिए ।

शुक्रवार दिनभर गाउँपालिकामा भएको सर्वपक्षिय छलफलमा जलविद्युत आयोजनाहरुले पूर्ववत प्रतिबद्धता अनुसार सडकलाई ग्राभेल सहित स्तरोन्नती गर्ने र नियमित रुपमा सडकको धुलो कम गर्न पानी हाल्ने काम सूरु गर्ने सहमती भएपछि सडक सूचारु भएको हो ।

यस अघि गाउँपालिकासंग जलविद्युत आयोजनाहरुले गरेको प्रतिबद्धता अनुसारको काम नभएपछि स्थानीयबासीले सडक अबरोध गरेको र तत्काल ग्राभेल गर्ने सहमती भएपछि सडक सुचारु भएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

रघुगंगा गाउँपालिकामा ४० मेघावाट क्षमताको राहुघाट, २२.५ मेगावाट क्षमताको ठूलोखोला, ४८ मेगावाट क्षमताको अपर राहुघाट, ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट र २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणधिन अवस्थामा रहेका छन् ।

सडक अबरोध भएपछि मौवाफाँटदेखि पिप्ले क्षेत्रमा निर्माण सामाग्री र उपकरण बोकेर रोकिएका जलविद्युत आयोजनाका दर्जनौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षतामा बसेको जलविद्युत आयोजना र निर्माण कम्पनीका प्रतिनिधि तथा, स्थानीय सरोकारवालाहरु समेतको बैठकमा बेनी–जोमसोम सडकखण्ड स्थित घुमाउनेतालदेखि पिप्ले हुँदै मौवाफाँट क्षेत्रको सडकलाई लेबलिङ्ग, ग्रेडिङ र ग्राभेल सहित सडक स्तरोन्नती गर्ने सहमती भएको छ ।