images
images

घरपझोङ गाउँपालिकाले तिलिचो ताल जाने र निलगिरी आईसफल पदमार्ग सडकको स्तरोन्नति

हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकाले विश्वकै अग्लो उचाइको तिलिचो ताल जाने पदमार्ग र निलगिरी आईसफल पदमार्ग सडकको स्तरोन्नति सुरु गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकामा तिलिचो ताल पदमार्ग सडक र निलगिरी आईसफल जाने पदमार्ग सडक मर्मत, सुधार एवं स्तरोन्नति सुरु गरिएको हो ।

पर्यटकीय पदमार्गको रुपमा रहेका दुवै सडक मर्मतका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चालु आर्थिक वर्ष घरपझोङ गाउँपालिकालाई ५० लाख ७ हजार बजेट विनियोजन भएको गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउन संघीय सरकारबाट २१ लाख ४९ हजार र वैदेशिक ऋण सहायता २८ लाख ५८ हजार बजेट विनियोजन भएको हो । घरपझोङ गाउँपालिका ४ र ५ नम्बर वडामा तिलिचो र निलगिरि आईसफल पदमार्ग सुधारका लागि २८ जना बेरोजगार स्थानीय जनशक्ति परिचालन गरिएको छ ।

घरपझोङ–५ ठिनीहुँदै नमुखलेंकसम्म जाने पदमार्ग सडक अन्तर्गत चालु वर्षको रोजगार कार्यक्रमको बजेटले झोर खोलादेखि नमखु खर्कसम्म र नमखुलेंक खर्कको पदमार्ग सडकदेखि निलगिरि आईसफल हुँदै सैनिक उच्चशिखर शिक्षालय कैसाङ माथिको छमा ताल पहुँच मार्गको सोचिलेंकसम्मको पदमार्ग सडकको मर्मत तथा सुधार एवं स्तरोन्नति गरिने रोजगार संयोजक श्रीसले बताउनुभयो ।