वन्यजन्तुलाई लक्षित गरी वनमा पोखरी निर्माण गरिने

म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएको हो ।

सहायक वन अधिकृत विनयबहादुर अधिकारीले पानी र आहारका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्नका लागि पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार बेनी नगरपालिका–५ को जैरीखेत र गाज्ने, बेनी नगरपालिका–२ को सिद्धभूमे हरियाली, मालिका गाउँपालिका–१ को कल्लेरी, वडा नम्बर ७ को रानीवन, मङ्गला–२ को प्रगति, धवलागिरि गाउँपालिका–३ को दर र अन्नपूर्ण गाउँपालिका–२ को पातलखर्क सामुदायिक वनमा पोखरी निर्माणका लागि सम्झौता भइसकेका छन् ।

६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा बन्ने पोखरीमा ६१ हजार लिटर पानी सङ्कलन गर्न सकिने जनाइएको छ । डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीले यसअघि वनमा निर्माण गरिएका पोखरी प्रभावकारी भएकाले चालु आर्थिक वर्षमा समेत प्रतिपोखरी एक लाख बजेट विनियोजन गरी पोखरी निर्माणलाई निरन्तरता दिइएको बताउनुभयो ।

यसअघि आर्थिक बर्ष २०७८–७९ मा १० र २०७९–८० मा छ गरी १६ वटा पोखरी निर्माण गरिएका उहाँले जानकारी दिनुभयो । दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले वनमा निर्माण गरिएका पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै जङ्गलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताउनुभयो ।