images
images

बडिगाड खोलामा पुल निर्माणमा ढिलाइ

बागलुङको बडिगाडखोलामा मोटरेवल पुल निर्माण गर्न थालेको चार वर्ष बितीसक्दा पनि समयमा पुल निर्माण हुन नसक्दा समस्या भएको छ । बडिगाड गाउँपालिकाको वडा नम्वर–७ भिमगिठे बजार र मालारानीगाउँ जोड्ने गरि २०७७ कार्तिक २७ गते २०७९ साल फागुनमा सक्ने गरि सम्झौता भएको भएपनि समयमा निर्माण हुन नसक्दा समस्या भएको हो ।

 

दुई पटक म्याद थप गर्दा पनि पुल सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । दुई वर्ष चार महिनामा सक्ने गरि निर्माण कम्पनीले जिम्मा लिएको भएपनि पनि हालसम्म ८० प्रतिशत मात्रै काम सम्पन्न भएको छ । समयसम्म पुल सम्पन्न नहुँदा बजारबाट दैनिक उपभोग्य सामान ओसारपसारमा समस्या भएको स्थानियले बताएका छन् ।

 

बडिगाडखोलामा हिउँदको समयमा पनि पानीको बहाव बढीनै हुने हुँदा यातायातका साधान वारपारमा समस्या हुने गरेको स्थानीय मीनबहादुर खत्रीले बताउनुभयो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण हालसम्म पनि पुल बन्न नसकेको खत्रीको भनाई थियो । गाडी नचल्दा स्थानीयले झोलोङ्गे पलमार्फत बोकेरै सामान बजारदेखि गाउँ पु-याउने गरेको खत्रीले बताउनुभयो ।

 

निर्माण कम्पनीले दुई पटक म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । असार मसान्तसम्म सक्ने गरि धमाधम काम गरिरहेको उहाँको भनाइ रहेको छ । पुल सात करोड ६५ लाख ९९ हजार ६१२ रुपैयाँमा बन्न थालेको अधिकारीले बताउनुभयो । निर्माणको जिम्मा रायमाझी÷राजेश्वरी÷पिटीआर अधिकारी जेबी गुल्मीले पाएको थियो ।