बेनीको मंगलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण

म्याग्दी नदीको कटानबाट जोखिममा परेका सरकारी कार्यालय र बेनी नगरपालिका–७ को मंगलाघाट बजार संरक्षणका लागि पक्की तटबन्ध निर्माण गरिएको छ । गत वर्ष देखि थालिएको तटबन्ध निर्माण योजना काम अन्तिम चरणमा पुगेको छ ।

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराले मंगलाघाटको बस्ती र जिल्लाका सरकारी कार्यालयहरूको संरक्षण गर्न करिब दश करोड रुपियाँभन्दा बढीको लागतमा म्याग्दी नदी किनारमा कम्पोजिट पर्खाल बनाउने योजना थालेको थियो ।

म्याग्दी नदीको कटानबाट मंगलाघाट क्षेत्रमा रहेका अधिकांश सरकारी कार्यालय र निजी घरहरू जोखिममा परेका थिए । म्याग्दी नदी कटानको उच्च जोखिम रहेको क्षेत्र डिभिजन वन कार्यालयदेखि माथि मंगलाघाट बजारसम्म दुई सय ६२ मिटर दूरीको कम्पोजिट पर्खाल निर्माण गर्न लागिएको हो ।

मंगलाघाट बजार क्षेत्रमा म्याग्दी नदीको किनारमा दुई वटा प्याकेज गरेर करिब दुई सय ६२ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्ने योजना अन्तिम चरणमा पुगेको रुपताल संरक्षण एकीकृत विकास परियोजना पोखराका इन्जिनियर नरजंग गुरुङले बताउनुभयो ।

पहिलो प्याकेजको एकसय २० मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गर्न पाँच करोड तीन लाख ८९ हजार रुपियाँमा रुपल सुप्रिम कन्ट्रक्सनसँग २०८१ चैत १० गतेभित्र सम्पन्न गर्न २०७९ फागुन २९ गते ठेक्का सम्झौता भएको थियो ।

यसैगरी, दोस्रो प्याकेजको एकसय ४२ मिटर कम्पोजिट पर्खाल निर्माण गर्न चार करोड ५८ लाख दशहजार रुपियाँमा पहिलो प्याकेजकै निर्माण कम्पनीसँग २०८१ फागुन १० गते भित्र सम्पन्न गर्नेगरी २०७९ फागुन २९ गते ठेक्का सम्झौता भएको परियोजना पोखराका इन्जिनियर गुरुङले जानकारी दिनुभयो ।