सडक मर्मतको ठेक्का लिएको ढोरपाटन निर्माण कम्पनीले काम छाडेपछि बागलुङको बडिगाड भित्रको २९ किलो मीटर लोकमार्ग अलपत्र भएको छ । ठेक्का पाएको दुइ वर्ष भएको र काम गर्नुको साटो भएको सडक पनि भत्काइएर छोडेपछि पारेपछि लोकमार्ग अलपत्र भएको हो ।
कालोपत्रे भत्काएर सडक छेवैमा थुप्रो बनाएपछि मध्यपहाडी लोकमार्ग अन्तरगत बडिगाड गाउँपालिकाको खण्ड झन् जोखिम बनेको छ । गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले गाउँपालिकाको काम बिशेषले हिंड्ने उपभोक्ता, बिद्यार्थी र राजमार्गका यात्रीले समेत सडकका कारण दुःख पाएको बताउनुभयो ।
बडिगाड खण्डमा ठूला र रात्री बसले साइड समेत नपाएको स्थानीय र चालकहरुले पनि गुनासो गरेको छन् । ठेकेदारको लापरबाहीले बडिगाड गाउँपालिकाभित्र पर्ने २९ किलोमीटर सडकमा थप जोखिम भएको उपाध्यक्ष बनले बताउनुभयोे । भएको कालोपत्रे समेत कोतरेर फालेपछि अरु काम नहुँदा सडक झन् जोखिम भएको उहाँको भनाई थियो ।
कालोपत्रे भएकै स्थानमा पनि नाली नहुँदा सडकमै बाढी पस्ने गरेको स्थानियले गुनासो गरेका छन् । लोकमार्ग आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले ठेकेदारहरुले समयमा काम नगर्दा आयोजनालाई दोष आएको बताउनुभयो । उहाँले लामो समय काम नगरेका ठेकेदारको ठेक्का तोड्ने चेतावनी दिनुभयो ।