images
images

पर्वतकोमा ४ करोड ३२ लाख ७९ हजार लागतमा तटबन्ध निर्माण

पर्वतको जलजला गाउँपालिका २ स्थित राम मन्दिर संरक्षण गर्न ४ करोड ३२ लाख ७९ हजार लागतमा तटबन्ध निर्माण गरिएको छ । कालीगण्डकी र रघुगंगा नदीमा अघिल्लो वर्षा याममा आएको बाढीले कटानको उच्च जोखिममा परेको राम मन्दि संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको हो ।

जलस्रोत तथा सिँचाइ विभाग अन्तर्गतको रुपताल संरक्षण एकीकृत विकास परियोजनाले माछापुच्छ्रे निर्माण सेवासँग २ वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत वर्ष माघमा ४ करोड ३२ लाख ७९ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

मन्दिर संरक्षण गर्न कालीगण्डकी नदी किनारमा १ सय ३८ मिटर लामो ‘कम्पोजिट’ पर्खाल निर्माण गरिएको छ । ठेक्का सम्झौता हुने बित्तिकै निर्माण कम्पनीले काम थालेको थियो । आगामी पुस ७ गतेसम्म ठेक्काको म्याद भए पनि १० महिनाअगावै योजना सम्पन्न भएको छ ।

३ वर्षअघि कालीगण्डकीमा आएको बाढीले कालीगण्डकी र रघुगंगा नदीको दोभानमा रहेको राम मन्दिरमा क्षति भएको थियो । नदी कटानले मन्दिरको धर्मशालासहितका संरचना बाढीले बगाएको थियो । बाढीका कारण मन्दिर, पुजारी निवास र गलेश्वरबाट राम मन्दिर जोड्ने झोलुङ्गे पुल जोखिममा परेको थियो ।

रुपाताल संरक्षण एकीकृत विकास परियोजनाका सबइन्जिनियर अशोक तिमिल्सिनाका अनुसार जमिनमुनि ५० सेन्टिमिटर चौडाइको २ मिटर ५० सेन्टिमिटरको कटअफ निर्माण गरी ३ मिटर उचाइको ४ मिटर फराकिलो पक्की कम्पोजिट पर्खाल निर्माण गरिएको छ ।