
म्याग्दीमा एक वर्षको अवधिमै २४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । चालु आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहमा गरिएको सम्पर्क परीक्षणको क्रममा २४ जनामा नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् ।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा गतवर्षका ६३ र नयाँ २४ बिरामी गरी ८७ जनाले नियमित औषधि सेवन गरिरहेको बताइएको हो ।
जिल्लामा सबैभन्दा बढी बेनी नगरपालिकामा १२ जना नयाँ क्षयरोग भेटिएका छन् । त्यस्तै मालिका गाउँपालिकामा ४ जना, मंगलामा २, धवलागिरी २ जना र रघुगंगा गाउँपालिकामा २ जनामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन गणेश सुवेदीले बताउनुभयो ।
एकजना क्षयरोगीले २५ जनासम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले लक्षण देखिना साथ स्वास्थ्य जाँच गराउनुपर्ने स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।
जिल्लाका सबै स्थानीय तहमा प्रयोगशाला र जनशक्तीको व्यवस्थापन गर्न सकिएमा वडास्तरमै पुगेर खकार परीक्षण शिविर सञ्चालन गर्न सकेमा सङ्क्रमितको पहिचान गर्न सजिलो हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खानखान मन नलाग्नु, खकारमा रगत देखिनु जस्ता समस्या भए तुरुन्त खकार जाँच गर्नुपर्ने उहाँको भनाई थियो ।