images
images

शुक्रवारदेखि हुने ‘प्रेस चौतारी कप २०८०’ को ट्रफी सार्वजनिक

प्रेस चौतारी नेपाल बागलुङ शाखाको आयोजनामा शुक्रवारदेखि हुने ‘प्रेस चौतारी कप २०८०’ को ट्रफी सार्वजनिक भएको छ । २६ औं स्थापना दिवशको अबसरमा चौतारीले खेलको आयोजना गरेको हो । बिहिवार एक कार्यक्रमका बीच जिल्ला खेलकुँद बिकास समितिका अध्यक्ष कुमार खड्काले ट्रफी सार्वजनिक गरेका हुन् । उक्त अबसरमा खड्काले खेलकुँद क्षेत्रको बिकासले राष्ट्र निर्माणमा सहयोग पुग्ने बताए ।

उनले खेलकुँदलाइ राज्यले उपेक्षा गरेको टिप्पणी समेत गरे । ‘नारामा स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भनिएको छ तर खेल क्षेत्रलाई राज्यले बजेट समेत दिएको छैन’ खड्काले भने, ‘युवालाई कुलतबाट जोगाउन पनि खेल क्षेत्रको बिकास चाहिएको छ ।’ चौतारीले भने स्वास्थ्यकालागि खेल, खेलकालागि खेलकुँद पत्रकारिता भन्ने नारा दिएको छ ।

शुक्रवारदेखि हुने खेलकालागि १२ टिमले भाग लिने अध्यक्ष सिर्जना पन्तले बताइन् । खेलमा बिजेता हुनेले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ठ खेलाडी सम्मान समेतको व्यवस्था छ । प्रतियोगिताकालागि आयोजकले ४ लाख ७२ हजारको लागत अनुमान पेश गरेका छन् । यो खेलकालागि जिल्ला फुटबल संघ र जिल्ला खेलकुँद बिकास समितिले प्राविधिक सहयोग गर्ने बताइएको छ ।