images
images

हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध

बिहिबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङको निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।

निरन्तर हिमपात हुँदा पूर्वी रुकुमदेखि काठमाडौँ, पोखरा जाने यातायातका साधन ठप्प भएको निसीखोला गाउँपालिका–६ का नीरज घर्ती मगरले जानकारी दिनुभयो । बागलुङको बुर्तिबाङदेखि रुकुम, जाजरकोटलगायतका स्थानमा पुग्ने यातायातका साधन निसीखोलामा अलपत्र परेको उहाँको भनाइ छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले हिमपात भइरहेको हुँदा अ सडक खुलाउन नसकिने बताउनुभयो । हिमपात रोकिएपछि मात्र सडक खुलाइने उहाँको भनाइ छ ।

यता ढोरपाटन सिकार आरक्ष क्षेत्र पनि हिमपातले सेताम्ये बनेको छ । बिहानैदेखि हिमपात हुँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । वर्षासँगै परेको हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्किन सकेका छैनन् । ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र पूरै हिउँले ढाकिएको स्थानीय होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिनुभयो ।