images
images

सामुदायिक क्याम्पस स्तरवृद्धिका लागि शैक्षिक ज्ञान महायज्ञ

अहिले सामुदायिक क्याम्पसहरु धरासायी बनिरहेका छन् । विद्यार्थीको अभाव र आर्थिक स्रोतको अभावमा गाउँ–गाउँका सञ्चालित सामुदायिक क्याम्पसहरु मुीश्कलले चलेका छन् ।

अहिले बागलुङ जिल्लाका क्याम्पसहरु विद्यार्थी अभावमा र आर्थिक स्रोतको अभावमा बन्द हुँने अवस्थामा रहेका छन् । समुदायमार्फत सञ्चालित क्याम्पसमा अहिले विद्यार्थी समेत टिकाउनै मुश्किल छ । आधुनिक शिक्षाको आकर्षण र वैदेशिक रोजगारी र अध्ययनका लागि विद्यार्थीहरु समेत पलायन भइरहेका छन् ।

२०६१ सालमा धनधान्याञ्चल महायज्ञ गरेर स्थापना गरेको बागलुङको गलकोट बुहुमुखी सामुदायिक क्याम्पसलाई समय सापेक्ष स्तरवृद्धि गर्न थालिएको छ । धान्याञ्चल लगाएर रु. एक करोड ७५ लाख संकलन गरी स्थापना गरिएको गलकोट बहुमुखी क्याम्पसलाई समय सापेक्ष स्तरवृद्धि गर्न थालिएको छ । धन्याञ्चलको रकमबाट जग्गा खरिद गरेर भवन निर्माण पछि क्याम्पस सञ्चालन गरिएको थियो । उक्त संकलन गरिएको रकम सकिएपछि आर्थिक अभावका कारण बन्द हुँन थालेको गलकोट बुहुमुखी क्याम्पसलाई २०७३ साल यता गलकोट नगरपालिकाले रु. १० लाख वार्षिक उपलव्ध गराउदै आएको छ ।

क्याम्पसको स्तरवृद्धिका लागि यही फागुन ६ गते देखि १३ गते सम्म धान्याञ्चल गर्न थालिएको गलकोट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुकुन्द सिंह भण्डारीले बताउनुभयो ।

“सामुदायिक क्याम्पस सञ्चालनका लागि आर्थिक समस्या छ, धान्याञ्चल महायज्ञ लगाएर संकलन गरेको रकमले स्थापना गरेको क्याम्पस अहिले पुन आर्थिक संकटमा छ” भण्डारीले भन्नुभयो “क्याम्पसको शैक्षिक गुणस्तर बढाउन र स्तरवृद्धि गरी स्नाकोत्तर सम्मको अध्यापन गराउनका लागि पुन १९ वर्षपछि श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ गर्न थालिएको हो, यो महायज्ञमा रु. २० करोड संकलन गर्ने उदेश्य राखिएको छ ।”

गलकोटको हटिया बजारमा रहेको गलकोट बहुमुखी क्याम्पसमा हाल व्यवस्थापन र शिक्षाशास्त्र संकायमा अध्यापन भइरहेको छ । क्याम्पसलाई स्तरवृद्धि गरी बढ्दो विद्यार्थी पलायनलाई घटाउनका लागि बिएससी एजी, बिआइटी, बिएचएम, बिबिए सहित स्नातकोत्तर अध्यापन गराउने लक्ष्य सहित शैक्षिक ज्ञान महायज्ञ आयोजना गरिएको गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माले जानकारी दिनुभयो ।

“अहिले क्याम्पस आफैमा आर्थिक संकटमा छ, नयाँ–नयाँ प्रविधिमा पढाई गर्न कठिन भइरहेको छ, गलकोट बजार भित्र क्याम्पस साघुरो छ, पर्याप्त खेल मेदान छैन” शर्माले भन्नुभयो “नयाँ विषयमा अध्यापन गराउन, क्याम्पसलाई आवश्यक २० रोपनी जग्गा व्यवस्थापन गर्न आर्थिक रुपमा मजबुद गराउन ज्ञान महायज्ञ आयोजना गरेका हौं, २० करोड संकलन गर्ने हाम्रो लक्ष्य छ, जसमध्ये स्थानीयले जग्गा समेत क्याम्पसका नाममा दिन सक्नुहुनेछ ।”

शर्माका अनुसार क्याम्पसले आयोजना गर्ने ज्ञान महायज्ञमा देश तथा विदेशमा रहनुभएका गलकोट तथा गलकोट क्षेत्रवासीको सहयोग रहने अपेक्षा गरिएको छ । शैक्षिक ज्ञान महायज्ञ सम्पन्न गर्नका लागि २७ वटा उपसमिति गठन भइसकेको छ । ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख वाचकको रुपमा रहनुभएको छ ।

क्याम्पसका पूर्व विद्यार्थी, शिक्षा प्रेमी, उद्योगी, व्यवसायी, गलकोटबाट विभिन्न देशमा जानुभएका गलकोटेबासीहरुबाट धान्यञ्चलमा सहयोगको अपेक्षा गरिएको छ । उक्त ज्ञान महायज्ञमा आर्थिक विभाग, प्रचार प्रसार विभाग, विदेश विभाग लगायतमा उपसमितिहरु गठन गरिएको छ ।