
पर्वतको जलजला गाउँपालिकाले आवास र स्टोर (भण्डारण) भवन निर्माण सुरु गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा भवन निर्माण हुन लागेको हो ।
भवन निर्माणका लागि लक्ष्मण शर्मा, रेमबहादुर बिक, प्रकाश पौडेल, सन्तोष रावल, नरबहादुर थापा, जितबहादुर विक, दिपेन्द्र विक, जर्नादन मल्ल, धौलागिरि सेलर मिल (विजय श्रेष्ठ) र लामाखेतका बासिन्दाहरुले सामूहिक रुपमा डेढ रोपनी जग्गा उपलब्ध गराउनु भएको थियो ।
स्थानीयबासीबाट ३२ लाख मूल्य बराबरको जग्गा प्राप्त भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । एक रोपनी जग्गामा २ तले सभाहलसहित २३ वटा कोठा भएको स्टील स्टक्चर प्रविधिको भवन निर्माण गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
एक करोड ९९ लाख लागत अनुमान गरिएको भवन निर्माण गर्नका लागि साहना–सक्षम जेभीसँग एक करोड ४२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको इञ्जिनियर सुनिल बानियाले बताउनुभयो । आगामी चैत महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उहाँको भनाई थियो ।
निर्धारित समयभित्रै भवन निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि मनोज कार्कीले बताउनुभयो । जलजला गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०÷०८१ को गौरवको आयोजना भएकाले गाउँपालिकाले आफ्नै बजेटमा भवन निर्माण गर्न लागेको अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
हाल वडा नम्बर ४ को लामाखेतमा तीन वटा भवन भाडामा लिएर गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ । कृषि, पशु सेवा, स्वास्थ्य शाखाको कार्यालय वडा नम्बर ७ मिलनचोकमा रहेका छन् । फरक फरक ठाउँ र साँघुरो भवनमा कार्यालय सञ्चालन गर्न समस्या भएको र अर्कोतर्फ भाडामा पनि बढि बजेट खर्च भएको आचार्यको भनाई थियो ।