धौलागिरी अस्पताल बागलुङमा सीटी स्क्यान (कम्प्युटर टोमोग्राफी) मेसिन संचालनमा आएको छ । करिब ७ करोड लागतमा खरिद गरिएको सिटी स्क्यान मेसिनको शुक्रबार गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै उहाँले स्वास्थ्य क्षेत्रमा योजना बनाउन सके लगानीको अभाव नहुने बताउनुभयो । उहाँले अस्पताल लाई रिफर सेन्टर नभै सेवा गर्ने थलोको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो । अस्पतालहरुमा भिडभाड भन्दा पनि व्यवस्थित रुपमा विकाश गर्नुपर्नेमा सिंखडाले जोड दिनुभयो । धौलागिरी अस्पताललाई २ सय बेडको बनाईने उहाँको भनाई थियो ।
त्यसैगरी गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले आम नागरिकको गुनासो संबोधन हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । शर्माले सिटि स्क्यान मेसिनलाई आवश्यकताको आधारमा मात्र प्रयोग गर्न सुझाब दिनुभयो । जथाभावी सिटि स्क्यान गर्दा क्यान्सर जस्ता जघन्य रोगको संक्रमण हुन सक्ने भएकाले सचेत बन्नुपर्ने उहाँको भनाई थियो ।
बागलुङ नगरपालिका नगर– प्रमुख वसन्त कुमार श्रेष्ठले धौलागिरी अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाउन आफुहरु निरन्तर लागिपर्ने बताउनुभयो ।
सीटी स्क्यान मेसिन जडान शरीरका विभिन्न भागका क्यान्सर, टाउकोमा रगत जमेको, पेट, छाती सम्बन्धी रोग, शरीरका विभिन्न भागको प्यारालाइसिस, चोटपटक लागेका बिरामी, फोक्सोको क्यान्सर, शरीरको आन्तरिक चोट, रगत जमेको, टाउकोमा नसा फुटेको, आन्द्रा बटारिएको, जोर्नी लगायतका रोगको निदानका लागि प्रयोग गरिन्छ । कार्यक्रम धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षता, प्रमुख मेडिकल सुपरिटेन्डेन डा. रबि रन्जन प्रधानको स्वागत मन्तव्य र नवराज शर्माको संचालनमा सम्पन्न भएको थियो ।