images
images

म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खड्गभवानी कोट मन्दिर परिसरमा नवनिर्मित सिद्धिविनायक गणेश मन्दिरमा भगवान् गणेशको मूर्ति प्राण–प्रतिष्ठा

म्याग्दीको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खड्गभवानी कोट मन्दिर परिसरमा आज (मङ्गलवार) नवनिर्मित सिद्धिविनायक गणेश मन्दिरमा भगवान् गणेशको मूर्ति प्राण–प्रतिष्ठा भएको छ । ज्यामरुककोट क्षेत्र विकास तथा मन्दिर व्यवस्थापन समितिको आयोजनामा मूर्तिको प्रतिस्थापन गरिएको हो । गणेश मन्दिरमा धार्मिक विधि र परम्पराअनुसार पूजाअर्चना गरी गणेशको मूर्तिको प्राण–प्रतिष्ठा गरिएको ज्यामरुककोट क्षेत्र विकास तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

समितिका पदाधिकारी, निर्माण उपभोक्ता समिति र स्थानीयको उपस्थितिमा भजनकिर्तन र बाजागाजासहित गणेशको मूर्तिको प्राण प्रतिष्ठाको कार्यक्रम बेनी नगरपालिका–२, ज्यामरुककोटका वडा अध्यक्ष यामबहादुर क्षत्रीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । गणेशको मन्दिर गएको आर्थिक वर्ष २०७९÷०८० मा गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको पाँचलाख रुपैयाँको लागतमा निर्माणसम्पन्न गरिएको ज्यामरुककोट क्षेत्र विकास एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

मन्दिर निर्माणको क्रममा शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेकबाट गत वर्षको फागुन ७ गतेदेखि बैशाख २ गतेसम्म श्रमदानमा सहयोग भएको थियो । मूर्तिको प्राण–प्रतिष्ठा कार्यक्रमको अवसरमा श्रमदानमा सहयोग गरेको भन्दै शत्रुभञ्जन गुल्मलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

उक्त सम्मान गुल्मका सेनानी प्रकाश घिसिङलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष क्षत्री, निवर्तमान वडाध्यक्ष हिराबहादुर थापा, व्यवस्थापन समितिका अध्यक्ष घिमिरेसहित स्थानीयले अबिरको टिका र खादा लगाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा वडाध्यक्ष क्षत्रीले चालु वर्षमा पनि पर्यटन बोर्डबाट ज्यामरुककोट मन्दिरको सरक्षणका लागि १० लाख रुपैयाँ बजेट परेको बताउँदै शत्रुभञ्जन गुल्म अर्थुङ्गे व्यारेकबाट पुनः सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम ज्यामरुककोट क्षेत्र विकास एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेको अध्यक्षता, सचिव हरिप्रसाद शर्माको सञ्चालन र सदस्य जमुना घिमिरेले स्वागतमा सम्पन्न भएको थियो ।