
बागलुङको बरेङ गाउँपालिका बरेङ बजारमा “बरेङ होजियारी लघु उद्यम समूह”ले उत्पादन तथा बिक्री बितरण शुरु गरेको छ ।
बरेङ गाउँपालिका लघु उद्यम विकास कार्यक्रम अन्तरगत लघु उद्यम विकास शाखाले सञ्चालन गरेको १ महिने तालिम पश्चात सहभागी महिलाहरु २५ जना मध्ये १० जना महिलाहरुले सिकेका सिपको सदुपयोग गर्दै समूह गठन गरी लघु उद्यम सञ्चालन गरेको समूहका अध्यक्ष कुमारी थापाले ईपरी न्यूज बरेङलाई बताएका छन् ।
शुरुमा हाते होजियारी यन्त्र उद्यम विकास शाखा बरेङको ८० प्रतिशत सहयोग र समूहको २० प्रतिशत लगानीबाट शुरु गरेको उनिको धागोबाट तयार पारिने कपडाहरु जस्तैः महिला तथा पुरुषका लागी सुईटर, टोपी, गलबन्दी, मोजाहरुको उत्पादन गरी बजारमा ल्याएको उद्यम विकास सहजकर्ता सुरेन्द्र रानाले बताएका छन् ।
शुरुमा सर्वोदय माध्यामिक विद्यालयको खाली भवनमा सञ्चालन भएको लघु उद्योग हाल गाउँपालिकाले कृषि तथा पशु शाखा कार्यालय बरेङ बजारको भवनको खाली कोठामा व्यवस्थापन गरेको छ ।
बरेङ गाउँपालिकाका जेष्ठ नागरिक, बालवालिका तथा महिला विकास शाखाको सहयोग ७० प्रतिशत र समूहको ३० प्रतिशत गरी जम्मा रु.४ लाख ५० हजार लगानीमा विद्युतिय डिजिटल होजियारी यन्त्र खरिद गरि उद्योगलाई विस्तार गरिएको पनि उद्यम विकास सहजकर्ता रानाले बताएका छन् ।
हाल उत्पादनमा बरेङ गाउँपालिका भित्र रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुको पोषकका लागी सुईटर, टोपी र मोजाको माग विद्यालयको माग अनुसार उत्पादन गरेको र तयार पारिएका पोषाक विद्यालयहरुलाई पठाईएको पनि समूहका अध्यक्ष थापाले बताएका छन् ।
हाल सम्म पालिकाका ३ वटा विद्यालयहरु सर्वोदय माध्यामिक विद्यालय बरेङ, टिमुरेघाट प्राथमिक विद्यालय धुल्लुबाँस्कोट टिमुरेघाट र नेपाल कर्तव्य पालन प्राथमिक विद्यालय धुल्लुबाँस्कोट उर्लेनीका विद्यार्थीहरुको पोषाक तयारीमा रहेको पनि उनले बताएका छन् ।
उद्योगका अध्यक्ष थापाले भरर्खर मात्र खरिद गरेको नयाँ यन्त्रका लागी समूह जानकारी नरहेकोले समूहका सदस्यहरुलाई तालिमका लागी गाउँपालिकाबाट सहयोग गरे सक्षम कालीगढको उत्पादन हुने र उद्योगमा उत्पादनमा सहज हुने पनि बताएका छन् । त्यस्तै उत्पादन धेरै गर्न सके अन्य छिमेकी पालिकाहरु जैमिनी नगरपालिका, गल्कोट नगरपालिका, गुल्मीको कालिगण्डकी गाउँपालिका तथा चन्द्रकोट गाउँपालिका भित्रका विद्यालयहरु सम्म सेवा दिन सकिने पनि बताएका छन् ।
बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले गाउँपालिका भित्रका विद्यालयहरुले विद्यार्थीहरुको पोषाकको लागी पालिका भित्रको उत्पादनलाई प्रोत्साहन दिन आग्रह गरेका छन् भने उद्योगलाई व्यवसायीमुखी बनाउन उद्यमीहरुलाई गाउँपालिकाले तालिमको व्यवस्थापन गर्ने पनि बताएका छन् ।
उद्यम विकासले लघु उद्यम विकास तालिममा बेरोजगार महिलाहरुलाई संगठित गरेर सिप मुलक तालिम दिदैं गाउँपालिकामा व्यवसायिक बन्न पालिकाले प्रोत्साहन गर्दै आएको छ ।