
बागलुङ,
सहयोगापेक्षी बेसहारा सडक मानवहरुको सुरक्षाको लागि निर्माण थालिएको मानव सेवा आश्रमको भवन निर्माण ४५ प्रतिशत काम सम्पन्न भएको छ ।
बागलुङ नगरपालिका वडा न.४ निरयघाटमा निर्माण थालिएको मानव सेवा आश्रमको ४५ प्रतिशत काम सम्पन्न भएको कोषाध्यक्ष लक्ष्मी बासकोटाले बताइन् ।
गण्डकी प्रदेश सरकार, बागलुङ, पर्वत र म्याग्दीका स्थानीय सरकार तथा नागरिकको स्वेच्छिक चन्दा सहयोगमा आश्रम निर्माण भइरहेको छ । आश्रम वि.स २०७७ सालदेखि निर्माण सुरु गरिएको हो ।
हालसम्म आश्रमको ए ब्लकको ग्राउण्ड फ्लर सकिन बाँकी रहेको छ भने बि ब्लक र सि ब्लकका दोस्रो तलासम्म हवाई ढलान सकिएको छ ।
२ सय जना अट्ने आश्रममा कार्यक्रम हलसहित, मेडिटेशन (ध्यान) हल, स्टाफ नर्स, मेडिकल कक्ष, सुरक्षा गार्ड कक्ष हुनेछ । आश्रम २०८२ सालसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
१२ करोड ७५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने आश्रमको लागि गण्डकी प्रदेश सरकारले तीन पटक गरि १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
बागलुङको बरेङ गाउँपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका, जैमिनी नगरपालिकाले एक–एक कोठा निर्माणको लागि सहयोग गरेका छन् भने बागलुङ नगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ ।
एक कोठा निर्माण गर्न चाहने पालिकाले १२ लाख रुपैयाँ र व्यक्तिगत रुपमा कोठा निर्माणका लागि सहयोग गर्न चाहनेले ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्नु पर्ने छ ।
पर्वतको जलजला गाउँपालिकाले ६ लाख रुपैयाँ, म्याग्दीको बेनी नगरपालिकाले एक कोठा निर्माणको लागि सहयोग गरेका छन् ।
व्यक्तिगत रुपमा बागलुङ नगरपालिका वडा न. ३ का हिमालय श्रेष्ठ र चाइना श्रेष्ठको परिवारले एक कोठा निर्माणको लागि सहयोग गरेका छन् । सहयोगको पहिलो किस्ता आश्रमलाई बुझाई सकेका छन् ।
पालिकाबाट आउने रकम पनि दुई÷तीन आर्थिक बर्षमा गरि प्राप्त हुने कोषाध्यक्ष बासकोटाले बताइन् । आश्रम निर्माणको लागि कालीका भगवति गुठी संस्थाले पार्किङ शुल्क समेत आश्रमलाई उठाउने जिम्मा दिएको छ ।
चालु आर्थिक बर्षमा ७५ लाख रुपैयाँ बराबरको काम हुने छ । पछिल्लो आर्थिक संकटले आश्रम निर्माणको काम प्रभावित गरेको बासकोटाको भनाई छ । हाल मानव सेवा आश्रममा ४९ जना व्यक्ति रहेका छन् ।