वर्तमान सरकार कसैको दबाव र प्रभावमा नपरी भ्रष्ट्राचार बिरुद्दको अभियान थालेको- पौडेल

नेकपा माओवादीका केन्द्रीय सचिव तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले वर्तमान सरकार कसैको दबाव र प्रभावमा नपरी भ्रष्ट्राचार बिरुद्दको अभियान थालेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल, बागलुङले आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा बोल्दै पौडेलले सरकारका भ्रष्टाचार बिरोधी गतिविधिले भ्रष्टाचारी डराएको दाबी गर्नुभयो ।

उहाँले सरकारले सुशासनको एजेण्डा बोकेपछि आर्थिक चलखेल गर्ने र कानूनको छिद्र खोजेर अनियमितता गर्नेहरुले सरकार बिरुद्धको आबाज उठाएको पनि बताउनुभयो ।
पौडेलले सरकारका राम्रा काम देखी अत्तालिएर केही व्याक्तिले सरकार बिरोधी टिकाटीप्पणी गरेपनि संस्थागत रुपमा कुनैपनि दलले सरकार बिरुद्धको अभियान नचलाएको बताउनुभयो ।
उहाँले लामो समय अलपत्र परेका शिक्षा ऐन, संघिय निजामती ऐन लगायतका कानून आउने बताउनुभयो । मिटर व्याजी बिरुद्धको बिधेयक पास भएको र अन्य धेरै समस्याका समाधानमा सरकारले काम गरेको बताउनुभयो ।

हाल जिल्लामा बल्झेको इमेज सहकारी र शिवशिखर सहकारीको समस्या समाधानमा प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिले साथ दिने बताउनुभयो । भागेर तर्केर समस्याको समाधान नहुने भन्दै उहाँले ” कानुन लाई समाएर व्याक्तिगत सम्पत्तीको प्रयोग गरेर पिडितको पैसा फिर्ता गर्नका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रम प्रेस सेन्टर नेपाल बागलुङका कार्यबाहक अध्यक्ष सज्जन कुमार सिहंको अध्यक्षता र सचिव अनिस खातीको संचालनमा सम्पन्न भएको थियो ।