images
images

जनप्रतिनिधि, शिक्षक र कर्मचारीले छोराछोरी लाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

बागलुङको काठेखोला गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने नीति ल्याएको छ । सामुदायिक विद्यालयको गुणस्तरिय शिक्षाको अवधारणालाई सार्थक रुप दिन ‘हाम्रो विद्यालय, हाम्रै जिम्मेवारी’ कार्यक्रम ल्याईएको हो ।

जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरीलाई सामुदायिक विद्यालयमा नै अध्ययन अध्यापन गराउने नीति अबलम्वन गरिएको गाउँपालिका अध्यक्ष राजु थापाले बताउनुभयो । यो नीतिले सामुदायिक विद्यालयहरुको सेवाप्रवाह थप व्यवस्थित र प्रभावकारी हुने थापाको विश्वास छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममार्फत सरकारी सुविधा उपभोग गर्ने जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरीले सामुदायीक बिद्यालयमै अनिवार्य पठनपाठन गराउन भनिएको हो ।

सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि र शिक्षालाई प्रबिधिमैत्री बनाउने योजना बनाएको गाउँपालिकाले पहिले नैतिकता प्रदर्शन गरेर सामुदायीक विद्यालयमा अध्यययन गराउन लगाउने र नभए बिधि तयार गरेर कारवाही गरिने सामाजिक विकास समितिका संयोजक खडक थापाले बताउनुभयो । समग्र गाउँपालिकाको शिक्षा विकासका लागि ‘काठेखोलाबासीको इच्छा, गुणस्तरिय, व्यवहारिक र प्रविधिमैत्री शिक्षा’ भन्ने नारा तय गरेर गाउँपालिकाले शिक्षा सुधारका योजना तयार गर्ने भएको छ ।

शिक्षा सुधारका अन्य योजनाहरु जस्तै सामुदायीक विद्यालय प्रति विद्यार्थीको विश्वास बढाउन पहिलो चरणमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकका विद्यार्थी सामुदायीक विद्यालयमै पढाउने नीति लिएको थापाले बताउनुभयो ।सामुदायिक बिद्यालयको स्तरोन्नतीका लागि पालिकाले लगानी गर्ने गाउपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलकले जानकारी दिनुभयो ।