म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा कटान र पहिरो नियन्त्रण गर्न तटबन्ध र पक्कि पर्खाल निर्माण गरिएको छ ।
सरस्वती मावि रहेको फापरखेत, मसार र उपल्लो तातोपानी बजारमा म्याग्दी नदीको कटान र पहिरो रोकथामका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण र बृहत जलाधार आयोजनाको सहयोगमा संरचना निर्माण भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष कुमार केसीले सरस्वती मावी पछाडीको पहिरो र कटान रोकथामका लागि तीन तहको पक्कि पर्खालका साथै तातोपानी बजार र प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न ग्यावीयन पर्खाल निर्माण भएको जानकारी दिनुभयो ।
“तातोपानी बजारमा नदी र पहिरो नियन्त्रण गर्न यस वर्ष रु. ९५ लाख बराबरको काम भएको छ,” उहाँले भन्नुभयो “पहिलो चरणमा प्राप्त रु. पचास लाख अनुदानबाट सरस्वती मावि पछाडी म्याग्दी नदी किनारमा ५०÷५० मिटर लामो र चार मिटर अग्लो रिटेनिङ पर्खाल लगाइएको थियो । असार महिनामा आएको रु. ३५ लाख बजेटबाट यसअघि बनाइएको पर्खाल माथि पहिरो रोकथामका लागि थप ४९ मिटर लामो र चार मिटर अग्लो पर्खाल बनाउने काम सकिएको छ ।”
मसार क्षेत्रमा पर्खाल लगाउने तयारी गरिएपनि असार लागिसकेको र म्याग्दी नदीमा पानीको सतह बढेकाले त्यहाँ काम गर्न नसकिने भएपछि पहिरो रोकथाम गर्न थप पर्खाल बनाएको केसीले बताउनुभयो । यसैगरी बृहत जलाधार आयोजना कास्कीको रु. दश लाख सहयोगमा तातोपानी बजार तथा कुण्ड संरक्षणका लागि म्याग्दी नदी किनारमा ६२ मिटर लामो ग्यावीयन पर्खाल निर्माण गरिएको छ ।
वि.स. २०७८ मा म्याग्दी नदीमा आएको बाढीले फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुई वटा घर भत्किएका थिए । फारखेतमा रहेको सरस्वती मावि, ज्वालामाई आमा समुहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । ८१ घरधुरीको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि म्याग्दी नदीको कटानको जोखिममा छ ।
तातोपानी र मसारमा कटान नियन्त्रणका गण्डकी प्रदेश सरकार मार्फत आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि रु. ३५ लाख बिनियोजन भएको गण्डकी प्रदेश सांसद हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।