
अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दामा जिल्ला अदालत म्याग्दीले भल्गर प्रभात बसेललाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालले बिहिबारको इजलासबाट बसेललाई रु. दुई लाख पचास हजार धरौटीमा छाड्न थुनछेक आदेश भएको हो । म्याग्दीको बेनीकी एक युवतिले बसेल विरुद्ध जवरजस्ती करणी, अपहरण र शरिर बन्धक सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । म्याग्दी अदालतमा बसेल विरुद्धको अपहरण र शरिर बन्धक सम्बन्धी बिचाराधिन मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । कास्की जिल्ला अदालतमा बसेर विरुद्ध दर्ता भएको जवरजस्ती करणी सम्बन्धी अर्को मुद्दा बिचाराधिन छ । जिल्ला अदालत म्याग्दीका तहसिलदार शंकर सापकोटाका अनुसार बसेलले तोकिएको धरौटी रकम बुझाएनन् । धरौटी जम्मा नगरेको, मुद्दाको अन्तिम फैसला नभएको र अर्को मुद्दा बिचाराधिन रहेकाले प्रभात छुट्न सकेनन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले कास्कीको अर्को मुद्दाको थप अनुसन्धान गर्नका लागि प्रभातलाई कास्की पठाइएको बताउनुभयो । म्याग्दीकी ४३ (४०) (जाहेरीवालाको गोप्य नाम)ले अपहरण गरि शरिर बन्धक बनाएको र जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा प्रहरीले यही जेठ ७ गते पक्राउ गरेको थियो । म्याग्दीको बेनीमा अपहरण र पोखरामा जवरजस्ती करणी गरेको उजुरी छ ।
प्रभातका सर्मथक, दलित अगुवा र आफन्तहरुले भने अन्तरजातीय बिवाहका कारण केटीले प्रभातलाई दुख दिन फसाएको बताउँदै जातीय विभेद भएको भन्दै देशका विभिन्न ठाउँमा प्रर्दशन गर्दै आएका छन् । प्रतिनिधिसभा र गण्डकी प्रदेशसभाको बैठकमा पनि सांसदहरुले प्रभातलाई जातीय विभेद भएको भन्दै आवाज उठाएका छन् । बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात भल्गर र मोटरसाइकल राईडर हुन् । बेनी नगरपालिकाकी युवती २० वर्षीया हुन् । प्रभात ३ वर्षदेखि बेनीको एक इन्टरनेट सेवा प्रदायक कम्पनीमा प्राविधिकको रुपमा काम गर्दै आएका थिए । मोटरसाइकल राइडर र युटु्युवमा भल्ग सञ्चालन गरेका प्रभातले ती युवतिसँग गत फागुनमा भागी बिवाह गरेको उनका आफन्तहरुले बताएका छन् । १५ दिन भारतको कलकत्तामा दुई जना सँगै बसेर नेपाल आएपछि छुट्टिएका थिए ।