३२ जेष्ठ, बागलुङ
नेपाल प्रेस युनियन बागलुङ शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखामा तालाबन्दी गरेको छ । पत्रकार महासंघ बागलुङ शाखाका निर्वाचित अध्यक्ष नरेश कँडेललाई महासंघ केन्द्रीय समितिले कुनै समन्वय नगरी र जिल्लाको यथार्थ नबुझी पत्रकार महासंघको विधानविपरीत गरेको कार्यको विरोध गर्दै तालाबन्दी गरेको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्तले बताए ।
विधानमा जिल्ला शाखामा कार्यवाहक दिने जिम्मेवारी स्वयं शाखा अध्यक्षमा नै निहित हुन्छ । युनियन बागलुङले यो विषयमा महासंघको केन्द्र र प्रदेश समितिमा लिखित र मौखिक जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दी गर्न बाध्य भएको अध्यक्ष पन्तले बताए ।
महासंघले विधानविपरीतका कार्य तत्काल नसच्याएमा थप आन्दोलन गर्न बाध्य हुने युनियनले बताएको छ। विज्ञप्तिमा पत्रकार महासंघले निर्धारण गरेको कार्यविधिअनुसार सदस्यता शुद्धीकरण गरी महासंघलाई पेसागत रूपमा मर्यादित संस्थाको रूपमा विकास गर्न युनियन सदैव तयार पन्तले बताए ।।
युनियन तयार हुँदा पनि पछिल्लो समयमा बागलुङ शाखामा उत्पन्न विवादहरूको निरुपण नगरी शुद्धीकरणको नाममा मनोमानी ढंगबाट गरिएको निर्णय युनियनलाई मान्य नहुने बताइएको छ। युनियनको उपस्थितिविना कुनै विवाद बल्झाउने निर्णय भए थप प्रतिरोध गर्ने जनाइएको छ।