
महिलाको हत्या गर्ने अभियुक्तलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई हत्यापश्चात् करणी गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिनुभयो । २०७९ असोज ३० गते बिहान घरबाट मजदुरी गर्न निस्किएकी फुलमाया साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्टीमा मृत फेला परेकी थिइन् । अनुसन्धानका क्रममा सीसीटीभी फुटेजलाई आधार मान्दा शंकास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फुलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फूलमायाको हत्या गरे पनि हत्यापछि करणीसमेत गरेको स्वीकार गरेका थिए । प्रहरीले २०७९ साल कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।