विद्यालयमा कार्यरत कर्मचारीहरुको संस्था नेपाल बिद्यालय कर्मचारी परिषदले उचित पारिश्रमिकको माग गरेका छन् । उनीहरुले बर्षौदेखि कार्यरत ती कर्मचारीको दरबन्दीको व्यवस्था गर्न पनि माग गरेका छन् । जेठ २१ गतेदेखि शिक्षा बिकास तथा समन्वय इर्कामा धर्नामा बसेका कर्मचारीहरुले संघिय शिक्षा ऐन जारी गर्नुपर्ने, लेखापाललाई नायव सुब्बा सरह र कार्यालय सहयोगीलाई पनि दरबन्दीमा राख्नुपर्ने माग गरेका हुन् । हाल उनीहरुले करारमा काम गरिरहेका छन् । बर्षौदेखि काम गर्दा उनीहरुले आफ्नो जीवन बिद्यालयमा बिताएको तर दरबन्दीमा कामय नगरिएको र तलबभत्ता पनि राम्रो नदिएको परिषदका बागलुङ जिल्ला सचिव अर्जुन सापकोटाले जानकारी दिनुभयो । सापकोटाले कर्मचारीलाई काम लगाएपनि कर्मचारीकै रुपमा स्विकार नगरिएको गुनासो गर्नुभयो । बागलुङमा मात्रै १ सय ७ जना लेखापालसहित ६ सय १४ जना बिद्यालय कर्मचारी कार्यरत रहेका छन् । आन्दोलनरत कर्मचारीले २६ गतेसम्म बिद्यालयको तालाचाबी बुझाएर धर्नामा लागेका हुन् । त्यस्तै उनीहरुले २७ गतेदेखी काठमाण्डौंस्थित भद्रकालीमा रिले अनसन बस्ने र असार २ गतेदेखि माग सम्बोधन नभएमा सबै बिद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । कर्मचारीले राखेका मागमा नेपाल ट्रेड युनियन कांग्रेसले ऐक्यबद्धता जनाएको छ । ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष इश्वर ठाकुर पौडेल र सचिव बिरबहादुर किसानले बिज्ञप्तीमार्फत बिद्यालय कर्मचारीको आन्दोलनमा साथ दिएको घोषणा गर्नुभएको छ । जेठ १ गते आएको नेपाल सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा सामुदायिक बिद्यालयमा कार्यरत कर्मचारीको सेवा सुविधामा सम्बोधन गरिनेछ भन्ने वाक्यांस राखेर आसा जगाएपछि बजेटमा भने कुनैपनि शब्द नराखेर कर्मचारीप्रति बिभेद गरिएको उनीहरुको गुनासो छ । बिद्यालयमा कार्यरत शिक्षकले भने दरबन्दीमा बसेर राज्यले तोकेको तलब खाएका छन् भने कर्मचारीले आन्तरिक श्रोतबाट न्युन तलब खाएको पीडितले गुनासो गरेका छन् ।