images
images

गण्डकी प्रदेश सरकारले पाँचवटा सुरुङ मार्ग अध्ययन गर्ने

धौलागिरी टेलिभिजन,
गण्डकी प्रदेश सरकारले पाँच वटा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । आइतवार सार्वजनिक भएको आउँदो आव २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा तनहुँको भिमाददेखि नवलपुरको डेढगाउँ, डेढगाउँ–झ्यालबास, बाग्लुङको बिहुँ–नरेठाँटी, म्याग्दीको दानादेखि मुस्ताङको घाँसा र लमजुङको शीतलपाटी–नाल्फाफेँदी सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । यि मध्ये सङ्घ सरकारको बजेटमा परेर पनि कार्यान्वयन हुन नसकेको बाग्लुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्ग प्रदेशको नीति तथा कार्यक्रममा पनि समेटिएको हो । वर्षौँदेखि चर्चामा रहेको यस सुरुङ मार्गको सम्भाव्यता अध्ययन हुन नसकिरहेका बेला प्रदेश सरकारले थप चार ठाउँमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको हो । मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पर्ने यो सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो । आव सकिनै लाग्दा पनि यो सुरुङ मार्ग आयोजनाको प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन । काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने यो सुरुङ मार्ग बनेमा लोकमार्गमा घण्टौँ लाग्ने यात्रा केही मिनेटमा छोट्टिनेछ । पर्यटक तथा नागरिकको आउजाउदेखि त्यस क्षेत्रको आर्थिक÷सामाजिक विकासमा यो सुरुङ मार्गले महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । बाग्लुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताउनुभयो । केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन गरे पनि सम्भाव्यता अध्ययनको काम अघि नबढेको स्थानीयवासीको भनाइ छ । सङ्घ सरकारको प्राथमिकतामा परेको कास्कीको हेम्जा–नयाँपुल सुरुङ मार्गको पनि अझै विस्तृत सम्भाव्यता अध्ययन हुन सकेको छैन । पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यो सुरुङ मार्ग बनेमा डेढ घण्टाको सडक मार्ग १५ मिनेटमा समेटिनेछ । अहिले हेम्जा–नयाँपुलको दूरी ४० किलोमिटर छ । सुरुङ मार्गले त्यसलाई सातदेखि आठ किलोमिटरमा घटाउने अनुमान गरिएको छ । यसले पोखरालाई पर्वतसहित धौलागिरिका चारै जिल्लासँग जोड्छ ।