images
images

दलित समुदायको तथ्याङ्क सर्वेक्षण

बागलुङ
जेष्ठ, १३
बागलुङको काठेखोला गाउँपालिकाले दलित समुदायको तथ्याङ्क सर्वेक्षण सूरु गरेको छ । गाउँपालिकाको आयोजना र गाउँपालिका स्तरीय स्थानीय दलित समन्वय समितिको सहयोगमा पालिकाभरी रहेका दलित समुदायहरुको तथ्याङ्क सर्वेक्षण गर्न सुरु गरेको गाउँपालिकाका प्रवक्ता टिकासंगम विकले जानकारी दिनुभयो । जातिय विभेद विरुद्धको जागरण, सामाजिक एवं आर्थिक सशक्तिकरण हाम्रो अभियान’ भन्ने नाराका पालिकाभित्र रहेका दलितहरुको जनसंख्या, रोजगार, बेरोजगार, आर्थिक अवस्था र पालिका प्रति उनीहरुले चाहेको कार्यक्रमको बारेमा तथ्यांक संकलन सुरु गरिएको गाउँपालिका स्तरीय स्थानीय दलित समन्वय समितिका संयोजक पूर्णमाया सुनारले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर १ देखि ८ सम्मका दलित समुदायको आर्थिक, सामाजिक एवं सांस्कृतिक अवस्थाको स्थिति कस्तो रहेको छ भन्ने बारेमा तथ्यांक सर्वेक्षण गन वडा–वडामा गणकहरु पुगेको संयोजक सुनारले जानकारी दिनुभयो । तथ्यांक सर्वोक्षणमा दलित समुदायको लागि आगामी दिनमा गर्न सकिने हकहित, अधिकार र कल्याणको लागि के कस्ता योजना र कार्यक्रम गर्न सकिन्छ बारेमा समेत सुझाव संकलन गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विकले बताउनुभयो । उहाँले सर्वेक्षणमा दलित समुदायको लागि पालिका मार्फत कस्ता योजनाहरु संचालन गर्नुपर्छ भन्ने प्रश्नहरु समेत समावेश गरेको उल्लेख गर्दै प्रतिवेदनबाट आएका सुझाव अनुसार आगामी वर्षदेखि योजना र कार्यक्रम बनाएर संचालन गरिने बताउनुभयो । सर्वेक्षण पश्चात निर्माण हुने प्रतिवेदन पालिका, समितिमा रहने र अध्ययन र सामुदायिक विकासको लागि प्रयोग गरिने समितिका संयोजक सुनारको भनाई थियो । दलित लगायत पिछडिएको वर्ग र क्षेत्रको शसक्तिकरणका लागि पालिका सदैब साथमा रहेको गाउपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो