images
images

म्याग्दीको ताकमकोतमा हनुमानको मुर्ति र राम सिताको मन्दिर निर्माण

म्याग्दी
जेष्ठ, १३
म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक ताकमकोतमा हनुमानको मुर्ति र राम सिताको मन्दिर निर्माण भएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राखिएको हो । धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मुर्ति राखिएको जानकारी दिनुभयो । मुर्ति नजिकै पुरातत्व विभागका ठेकेदारले अधुरो छाडेको राम सिताको मन्दिर निर्माणलाई पूर्णता र मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ । “ताकमकोतमा भक्तजन र पर्यटकलाई आकर्षित गर्न हनुमानको मुर्ति स्थापना, राम सिताको मन्दिर निर्माणलाई पूर्णता, मुर्ति खरिद गर्दा रु. ३५ लाख खर्च भएको छ,” उहाँले भन्नुभयो “धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु. तीन लाख पचास हजार बिनियोजन गरेको यो योजनाका लागि स्वदेश तथा विदेशमा रहेका दाताहरुले सहयोग गर्नुभएको छ ।” ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मुर्ति बनाइएको मुर्तिलाई टाढादेखि देखिने गरि डाडामा राखिएको छ । हिमाल र हनुमानको मुर्तिलाई पृष्ठभूमिमा राखेर तस्विर खिच्ने ठाउँ बनाइएको छ । हनुमानको मुर्तिको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारहरुले पृती उद्धारका लागि प्रवेशद्धार निर्माण गर्नुभएको छ । अमेरिकामा रहनुभएका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मुर्ति स्थापनाका लागि आर्थिक सहयोग संकलन गरिएको छ । दाताबाट रु. २४ लाख ४० हजार सहयोग जुटेको छ । घोषणा गरेको थप रु. सात लाख २६ हजार १११ प्राप्त हुन बाँकी छ । सहयोग दाताहरुको नाम शिलालेख बनाएर राखिने वडा अध्यक्ष खत्रीले बताउनुभयो । हनुमानको मुर्ति नजिकै पुरातत्व विभागले वि.स. २०७६ मा रु. ४२ लाखमा ठेक्का मार्फत निर्माण शुरु गरेको राम सिताको मन्दिर तीन वर्षदेखि अलपत्र परेको थियो । मन्दिर निर्माणलाई पनि पूर्णता दिएर धार्मिक बिधि अनुसार राम र सिताको मुर्तिको प्राण प्रतिष्ठा गरिएको छ । हनुमानको मुर्ति र प्रवेशद्धारको शनिबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा मन्त्री जुग्जालीले धवलागिरी गाउँपालिकालाई समेटेर बेनी–ढोरपाटन सडक सञ्जालले जोड्ने र त्यसलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग बनाउने योजना अघि बढेको बताउनुभयो । हालसम्म सडक नपुगेको म्याग्दीको एक मात्र गुर्जा गाउँमा सडक पु¥याउन यसै वर्षदेखि काम शुरु भएको र आगमी वर्ष थप बजेट बिनियोजन गरेर काम गरिने बताउनुभयो । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले ताकमकोत, धवलागिरी हिमाल, जलजला र ढोरपाटन शिकार आरक्षलाई समेटेर समग्र धवलागिरीको पर्यटन विकासका लागि प्रदेश र संघीय सरकारसँग काम गरिने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले ताकमकोतको विकासमा समुदायको अग्रसरता उदाहरणीय देखिएको बताउनुभयो । वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा मुर्ति स्थापनाका लागि सहयोग जुटाउन अगुवाई गर्नुभएका रघुनाथ सुवेदी र धवलागिरी गाउँपालिकालाई सम्मान गरिएको थियो । यसैगरी पत्रकार सन्तोष गौतम र गोपाल आचार्यलाई सम्मान गरिएको थियो । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाहरुबाट तीन वर्षअघि रु. असी लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुननिर्माण भएको थियो । रु. १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मुर्ति राखिएको छ । सोहै औ शताब्दीमा निर्माण भएको ताकमकोत वि.स १९९० र २०७२ को भुकम्पका कारण जिर्ण बनेको थियो । ताकमकोतको एकिकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गूरुयोजना अनुसार पहिलो कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको पुर्व वडा अध्यक्ष कलानिधी सुवेदीले बताउनुभयो । ताकमकोतको पुर्बाधार निर्माणमा धवलागिरी गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब रु. एक करोड पचास लाख लगानी गरेका छन् । म्याग्दीको प्रमुख शक्तिपिठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास रहेको ताकमका रुपक सुवेदीले बताउनुभयो । जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा बिशेष मेला लाग्ने गर्छ ।