चिसोले कठ्याङ्ग्रिँदै पढ्नुपर्ने ढोरपाटनका विद्यार्थीको बाध्यता

अत्यधिक चिसो बढेपनि ढोरपाटनका विद्यालय संचालनमा छन् । केही विद्यालयले घुम्ती पढाईका लागि बेसी झरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालय अहिले पनि ढोरपाटन उपत्यकाबाट संचालित छन् ।

चिसोमा विद्यालय चल्दा विद्यार्थीले सास्ती खेप्नुपरेको छ । ढोरपाटन नगरपालिका ९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित बनेको छ ।

ढोरपाटनमा बिहान बाक्लो तुसारो पर्ने र दिउँसो चिसो सिरेटो चल्दा विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिदा पठनपाठन प्रभावित बनेको ज्योति विकास माध्यमिक विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिनुभयो ।

चिसोका कारण धारो र खोलामा पानीसमेत जमेको भन्दै पठनपाठनमा निकै समस्या भएको उहाँको भनाइै छ । गतवर्ष पौष पहिलो सातादेखि माग अन्तिम सातासम्म बिदा हुने गरे पनि नगरपालिकाको वार्षिक क्यालेण्डर अनुसार चल्दा समस्या भएको अदैले बताउनुभयो ।

ढोरपाटनमा संचालित जनवादी आधारभूत विद्यालय र सहलथान प्राथमिक विद्यालयले घुम्ती पठनपाठन सुरु गरेका छन् । जनवादीले ढोरपाटन नगरपालिका वडा नं. ९ बिजौले र सहलथानले वडा नम्बर ८ को नौघर टोलाबाट पढाई संचालन गरेका छन् ।

अघिल्ला वर्षहरुमा बर्खे बिदाको समयमा पठनपाठन गर्ने र हिउँदमा विद्यालय बन्द गर्ने हुने भएपनि चिसो कठ्याङ्गीदै कक्षा संचालन गर्नुपर्ने बाध्यता रहेको अदैले सुनाउनुभयो ।

अघिल्लो वर्षदेखि कक्षा दश संचालन गरेको भन्दै यो याममा पोखरामा लगेर ट्युशन पढाएको उहाँको भनाइ छ । गत वर्षदेखि कक्षा १० संचालन भएको यस विद्यालयमा अहिले १ सय ६८ जना विद्यार्थी पठनपाठन गर्दै आएका छन् ।