बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरुले गरेका गलत क्रियाकलापलाई ललकारेकै कारण पार्टी सभापति रवि लामिछानेमाथि प्रतिशोध साधिएको बताउनु भएको छ ।
शुक्रबार बागलुङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै वाग्लले पुराना पात्र र प्रवृतिका विरुद्ध जेहाद छेडेका कारण पुराना दलहरुले रवि माथि प्रतिशोध साधेको प्रमाणित हुँदै गएको उहाँले बताउनुभयो ।
नेपाली जनताका नाममा राजनीतिक दलहरुबाट भएका गलत सुशासन विरोधी क्रियाकलाप, विकास निर्माण लगायत आर्थिक विकासका क्षेत्रमा गरेका गलत कामको भण्डाफोर गर्न रास्वपा सभापतिले गरेको साहस आम युवाका लागि अनुकरणीय छ, वाग्लेले भन्नुभयो,–‘रविले गरेको त्यो साहस स्वर्णिय वाग्लेले गर्न सक्दैन ।’
२०७९ को मंसिरमा भएको निर्वाचनबाट चौथो दलका रुपमा संसदमा पुगेको रास्वपाले धेरै गर्न सकेन भन्ने गुनासो पनि छ, हो, हामीले सोचजति गर्न सकेनौ, गर्ने प्रयास गर्दा पनि हामीले गर्न नसक्नुका पछाडि हाम्रो संख्या हो, वाग्लेले भन्नुभयो ।
हामीसग २१ सिट मात्र थियो, यो सख्याले न सरकार बनाउन सक्थ्यो, न कानुन परिवर्तन गर्न सक्थ्यो, रास्वपा उपसभापति वाग्लेले भन्नुभयो, –‘फागुन २१ गते नेपाली जनताले रास्वपा र रास्वपाले जस्तै परिवर्तन चाहने शक्तिलाई मत दिए मात्रै मुलुक छिटो परिवर्तन हुन सक्छ ।’
३ दशकदेखि राज्यसत्तामा बसेका दलहरुले बाटो बनेको, पुल बनेको, विद्यालय बनेको छ, परिवर्तन भएको छ त रु भन्छन् । उनीहरुले यसो भनिरहदा केही भएकै छैन, हामीले पनि भनेका छैनौ, तर यो समयमा हाम्रो जस्तै अवस्था भएका अन्य देशले गरेको परिवर्तन एक पटक हेर्न वाग्लेले पुराना दलहरुलाई आग्रह गर्नु भयो ।
अबको निर्वाचनमा रास्वपालाई बहुमत र रास्वपा जस्तै नया शक्तिलाई दुइ तिहाइ मत दिन उहाले मतदाताहरुलाई आव्हान गर्नु भयो । जनताले पुराना दलहरुलाई र तिनै खालका प्रवृतिहरुलाई मत दिएपछि त्यही अनुसारकै सरकार बन्छ र हामी फेरी पनि पछि पर्छौ भन्ने कुरा जनताले बुझ्न पर्छ, उहाँको भनाइ छ ।
एक पटक घण्टी बजाएर हेर्नुस, हामीलाई बहुमत दिनुस, हामीले काम गर्छौ, परिवर्तन देखाउछौ, यदी गर्न सकेनौ भने अर्को पटक हामीलाई पनि लात हान्नुस हामी त्यसका लागि तयार छौ ।
मुलुक निर्माणका लागि सुशासन आवश्यक छ, त्यसका लागि रास्वपाले स्पष्ट रुपमा आफ्ना एजेण्डा अगाडि बढाएको दावी गर्दै उहाँले पुराना राजनीतिक दलहरुले पद जोगाउनका लागि विभिन्न तहका पदहरुलाई बिक्रीमा राखेको आरोप लगाउनु भयो ।
स्थानीय उत्पादनलाई बढाउनका लागि युवा शक्तिलाई उत्पादनमा जोडाउनु पर्नेमा युवाहरुलाई विदेशिन वाध्य पारिएको उहाँको भनाइ छ । रास्वपाले प्रवासमा रहेका युवाहरुसंग भएको पूँजि र दक्षतालाई स्वदेशमा उपयोग गर्ने गरी योजना अगाडि प्रतिवद्धता व्यक्त गर्नु भयो ।
फरक प्रसंगमा नेता वाग्लेले धेरै सुनेको ऐतिहासिक बागलुङमा आफु पहिलो पटक आएको चर्चा गर्दै यहाँको सुन्दरता र यहाको ऐतिहासिक विषयले प्रभावित भएको बताउनुभयो ।
२०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसले दुइ तिहाइ मत ल्याउदा र केही सिटमा कम्युनिष्ट पार्टी विजयी हुदा बागलुङमा खुकुरी दल विजयी भएको आफुले इतिहासमा पढेको भन्दै उहाँले बागलुङ राजनीतिक रुपमा विद्रोहमा विश्वास गर्ने जिल्लावासी रहेको ठाउँ हो भन्नुभयो ।
बागलुङले २०७९ को निर्वाचनमा बजाएको घण्टीले जनताको ध्यानाकर्षण भएको छ, अबको निर्वाचनमा बागलुङलाई घण्टीमय बनाउनु हुनेछ भन्ने अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस बागलुङ नगरपालिका वडा नं २ का सभापति अमर बहादुर खडका, निसीखोला गाउँपालिका नेपाली कांग्रेसका सहसचिव निरञ्जन ठकुरी सहित एक सय भन्दा बढी व्यक्तिहरु पार्टी प्रवेश गरेको रास्वपाले जनाएको छ । कार्यक्रम रास्वपा बागलुङका सभापति महेन्द्र खड्काको अध्यक्षता र सचिव बबिन नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।

धौलागिरी टेलिभिजन 










